Social Icons

4.10.2012

हरिलालको काठमाडौँ सपना

रमेश सायन


from Nayapatrika

आदि किलो अंगुर किनेर झोलामा हालेँ । हरिलाल मण्डल मुस्कुरायो र बाँकी पैसा फिर्ता दियो । यो काठमाडौंका लामा सडकमा आफूले फलफुल बोकेर डोयाई हिँड्ने साइकलको चक्का जस्तै गोलो जिन्दगी बाँच्ने हरिलाल मेरो उमेरैको हो । उसको ओठको मुस्कानलाई सम्मान गरेझैँ गरी मैले पनि उसले जत्ति नै हासँे र फिर्ता पैसा गोजीमा राखेँ । घर सोधेँ, “सितामणि बिहार” काठमाडौँ आएको कति भो ? “१० वर्ष ।” यहाँ कोको छन् ? “म, श्रीमती र दुई छोरा ।” कमाइ कति हुन्छ ? “महिनाको पन्ध्र ÷सोह्र हजार खाएर पाँच हजार जोगिन्छ ।” त्यसपछि ऊ सानसँग भन्छ, “यो काठमाडौँमा घर बनाउनु छैन, कार वा मोटरसाइकल पनि चढ्नु छैन छोरालाई बोर्डिङमा पढाएको छु सितामणिमा भन्दा यतै रमाइलो छ ।”
मैले नितेश कुमारलाई सम्झेँ र लगत्तै विराटनगरका प्रकाश मण्डललाई पनि ।
नितेश कुमार
बिहारलाई नमुना बनाइरहेका छन् । उनका यी जनता यतै रमाइरहेका छन् । भारतको विशाल भूगोलले नितेश कुमारको चमत्कार हेरिरहेको छ । लालु यादवको खोपिया दिमाग रेलको लिखहरूमा जाम खाएर बसेको छ । फराकिला सडकले नितेशको अनुहार घामसगैँ टल्किरहेको छ । खेतका गह्रामा नितेशको योजना फुलिरहेको छ । हरेक विद्यालयको कक्षाकोठामा नितेशको योजनाको पांग्रा गुडिरहेको छ ।
प्रकाश मण्डलः
विराटनगरमा राम्रो पैसा कमाएका छन् पहिलो नम्बरका अटोमाइल्स मेकानिक हुन् । लालुको पालामा कटिहारको आफ्नो घरको धुरीमा एकाबिहानै काग कराएपछि नेपाल छिरेका प्रकाश अहिले विराटनगरको आफ्नो डेरामा हरेक दिन काग कराइरहेको देख्छन् । अब उनी जसरी बिहारबाट नेपाल छिरेका थिए उसैगरी नेपालबाट बिहार फर्कने सुरमा छन् । उता रासनकार्ड छ, सस्तोमा चामल, चिनी, मट्टितेल र अन्य दैनिक उपभोग्य सामान उतै पाउँछन् । विद्यालयमा यहाँभन्दा रम्रो पढाइ उतै छ । रात, साँझमा सुरक्षा उतै छ । फराकिला सडक र सस्तो बस, रेलको भाडा उतै छ । आफ्ना जति उतै छन् रहरको योजना, साना या ठूला सपनाको बाटो उतै छ । खेतका आलिमा, समयको पांग्रा उतै देखेका प्रकाश पूरापूर मानवीय स्वार्थको एक नम्बरमा छु भन्छन् । त्यही भएर अब नेपालबाट बिहारतिरै जिन्दगीका लामा वा छोटा लाइन पार गर्ने सुरमा छन् ।
तर यी फलफुल व्यापारीले नितेशलाई किन मन पराएनन् त मैले भने “सितामाणि फर्कन मन लागेको छैन ?” उनले फेरि टाउको हल्लाएर मधुरो मुस्कान ओठहरूमा ल्याएर भने । “मेरो पेशा फलफुल बेच्नु हो । मेरो गाँउमा फलफूल किनेर खाने मान्छे छैनन् । उता गर्मी छ यतै बानी भो ।” अनि नितेशको कुरा सम्झाए, उताको रासन कार्ड, नानीहरूलाई विद्यालयमा दिने सुविधा, किसानेले पाउने सेवासुविधा आदि मैले जानेको कुरा भन्न नपाउँदै उनले थपे । “यता पनि उस्तै त हो नि म नेपालमा आउँदा कहाँ यस्तो थियो र मान्छेहरू मरिरहन्थे धेरै बन्द हुन्थ्यो । जनकपुर हुँदै काठमान्डौंसम्म आइपुग्दा धेरै दुःख पाएको थिएँ । बाटोमा धेरै पल्ट पुलिसले मेरो झोला खोतलेको थियो । दुई दिन लागेको थियो । त्यसपछि पनि यहाँ काठमाडौँमा धेरै दुःख पाइयो । धेरै मान्छेले आन्दोलन गरेको थियो । मान्छेहरू पनि मरेको थियो । मलाई नेपाली पनि बोल्न आउँदैन थियो । यहाँ मोबाइल फोन थिएन मैले आफ्नो घरमा फोन गरेको मिनेटको पचास रुपैयाँ तिरेको थिएँ । तीन÷चार मैनामा मात्र एक पल्ट कुरा गर्न सक्थेँ आफ्नो भाइ र आमासँग, तर अहिले म सधँै कुरा गर्न सक्छु । थोरै पैसामा पनि कुरा गर्न मिल्छ । सबै कुरा विस्तारै विस्तारै राम्रो हुँदै गएको छ नेपालमा । मलाई घरमा पनि यतै राम्रो छ भने यतै बस्न भनेको छ । सितामणिमा मेरो थोरै जमिन छ । कमाइ गरेर खान राम्ररी पुग्दैन । अहिले भाइ र आमालाई खान पुग्छ म गएपछि पुग्दैन । फेरि नानीहरू यतै रमाउँछ । मैले पनि अहिले राम्र्री नेपाली बोल्न सिकेको छु । मैले सुनेको छु अहिलेको नेपालको प्रधानमन्त्रीले राम्रो काम गर्छ रे । अनि नेपालमा खै के पनि बनिराखेको छ रे’नि ? बनेपछि राम्रो हुन्छ रे, अनि मेरो ससुराली पनि नेपालमै हो मेरो ससुरा राम्रो मान्छे छ । नेपालमै बस्नु पर्छ भनेको छ ।” मलाई उसको गफमा औधि आनन्द आइरहेको छ । म मोटर साइकलबाट उत्रेको छुइनँ । एक जना नयाँ ग्राहकलाई सय रुपैयाँ किलोको स्याउ बेच्यो र पैसा खल्तीमा हाल्यो । औधी रहरले आफ्नो सानो छोराको कुरा सुनायो “मेरो छोरा छ नि ऊ एकबाट दुईमा जाँदा फस्ट भयो । म छोरालाई डाक्टर बनाउँछु । छोरोले डक्टर पढ्नेबेलासम्म धेरै पैसा जम्मा हुन्छ अनि अर्को छोरो पनि खुब बाठो छ अब उस्लाई पनि स्कुल हालिहाल्छु । मलाई धेरै पैसा चाहिँदैन थोरै भए पनि पुग्छ ।” ऊ साइकल डो¥यार अगाडि जान खोजिरहेको थियो । मैले सोधँे अब घर जाने बेला भयो हो ? उसले एक हातको औँलाले देखाएर “भन्यो ऊ ट्राफिक आयो अहिले फलफुल जैजान्छ जरिवाना काट्छ, गाली पनि गर्छ ।” ऊ म भन्दा ठिक उल्टो पट्टिबाट आफ्नो बाटो लाग्यो ।
मान्छे खुसी हुने अनेक तरिका हुन्छन् । रमाउने अनेक गतिहरू हुन्छन् । यो समयको कारागारमा मानिस अनेक तरिकाले आफ्नो जिन्दगीको जेलमा जन्मकैद भुक्तान गरिरहेका हुन्छन् । हरिलालले पनि गरिरहेको छ । तर उसले जति रमाउने तरिका सायद कमैले मात्र जानेको हुनुपर्छ । मैले पनि उसले जति रमाउने तरिका जानेको छुइनँ । लाग्छ मानिस दुःखी हुनुको पछाडि अनेक सपनाको पहाड हुनुपर्छ । अनेक रहरको समुन्द्र हुनुपर्छ, अनेक आशाको विशाल फाँटहरू हुनुपर्छ । ऊ छोरो एक कक्षामा फस्टा हुँदाको जति खुसी म कहिले हुँला ? देशमा परिवर्तन भयो तर मैलै त्यो हरिलालले जति पनि महसुस गर्न सकेको छुइनँ । उसले भनेको जस्तो देश त विकाश भएकै छ । पढ्नलाई लामो दूरीको बाटो हिँडेर बाटामा खाजा बोकेर जानु पर्दैन । घरमै बसेर पनि आफूलाई विश्वसँग जोडिरहेका छौँ । सानाभन्दा साना रोग लागेर मान्छेहरू मर्ने अवस्था छैन । मर्ने बेलामा पनि बूढाबूढीहरूले मोटर चढ्न पाएका छन् । विस्तारै मानिसहरूको जीवन शैलीमा विभिन्न कारणले परिवर्तन भइरहेको छ । अब हामीभित्र सकारात्मक सोच आउनुपर्छ । हरेक बिहान अफूलाई खुसी बनाउनतिर लाग्नुपर्छ । रमाउन जाने यहीँ छन् घामका पाइला, जुनको आकाश, सँघारमा खुसिको साझ बिहान । मैदान छुने क्षितिजको निलो आकाश, जीवनका रंगीन पाटाहरू । हिमालको छायाँ बज्ने संगीतका अनुपम धुनहरू । हरिलाल मण्डल जतिमात्र रमाउन जाने जीवन रमाइलो मात्र हुन्छ । हामी धेरै प्रकाश मण्डल जस्तै जता पल्ला भारी हुन्छ उतै दगुरिरहेका छौँ । भन्नु पर्दा राम्ररी आफूलाई माया गरेका छैनौं । आफैं केही गर्दैनौँ, हाम्रो लागि अरुले गरिदिनुपर्छ ।
पछाडि फर्केर हेरेँ हरिलाल मण्डल भीडभाडमा हराइसकेको थिएँ । मैले उनीबाट अलिकति खुसिहुन सिकेँ ।
rashayan@hotmail.com

No comments: