Social Icons

3.29.2012

खुसिका बिम्बहरु

रमेश सायन
From Himalay Times (2068.12.11)

म घरको कौसिमा उभिएको छु र, आँखा आकासमा टाँगिदिएको छु । आकास प्रायः निलो छ कतै कतै टाटाटुटी बादल मैले जे कल्पना ग¥यो त्यही आकार भएर आकासै आकास दौडन्छ । सुन्दर फूलहरुको वगैँचा, सेतो हिउँको पहाड,खेतका कान्ला,पाखो बारी,साहुको अनुहार, बादलले आकासको पिठ्युमा बोकेर दौडिरहेको छ । रमाउन किन धेरै बाहाना चाहियो र ? म यिनै बादलका हजार अनुहारमा हराई रहेको छु । आज औधी रमाईलो लागेको छ । यसपाला पनि नबिराई ऋतुमा वसन्त आईपुग्यो, रुखका आँगामा पालुवा पलायो । आरुका बोटहरु उन्माद बंैसमा फुले । पोहोर पनि फुलेका थिए । हुन त यी बोटहरु मैले थाहा पाउँदा देखि नै फुलिरहेका छन् । यी रुखहरु हतपत बुढा हँुदैनन् वा बुढा भएर पनि फुलिरहनु यिनीहरुको भाग्य हो । बिहान हरिलाल ठाकुरको सैलुङमा,सेताम्मे कपालमा, कालो पोलिस लगाईरहेको, त्यो छिमेकी सरकारी हाकिम यी आरुको बोटका बंैससँग कति ईष्र्या गर्दो हो म मनमनै कल्पना गर्न सक्छु ।
बतासले एउटा मिठो वास्ना मेरो नाकै सम्म ल्याएर हुल्यो । मेरो ध्यान बादलबाट वास्ना तिर स¥यो । मेरो आनन्दमा एक ईन्च पनि कमि भएको छैन । आरुका फूलहरु वतासले भूँईतिर खसाल्यो, अलि पर पर उडायो,कुनै कुनै फूल मेरै टाउको सम्म आएर अडियो ।
ठिक यो बेला, म नेपाल घुम्न आएको ईटालियन पर्यटक लुकालाई सम्झन्छु । उसले सबैभन्दा धेरै हाँस्न जानेको हुनु पर्छ, हरेक बहानामा रमाउन जानेको हुनुपर्छ, दोलखाको जिरी हुँदै लुक्ला तिर दौडिरहेको त्यो २१ वर्षे ठिटो,हेर्दा लाग्छ, यो मान्छे हाँसेरै जिन्दगी बिताई दिन्छ । आरुका फूल, गुराँसका बोट,पाखो बारी,सल्लाका वन,डोको, ढाकर,भरिया,उकालो ओरालो जे देखे पनि बेस्मारी रमाएर हाँस्छ । चरिकोटमा सस्तो होटल खोज्दै आई पुगेको उ, म बसेकै होटलमा आई पुगेछ । त्यसपछि केही घण्टा लुकासँग गफिएको छु । बिहानै मलाई उठाएर बजार भन्दा अलि परको पाखो बारीमा लिएर गयो । आरुका फूलहरु देखायो र बेस्मारी हाँस्यो,म आरुका फूलहरु देखेर त हाँसिन तर उसको हाँसोमा थोरै लय मिलाउन हाँसें । केही बेर पछि फर्कंदा उसले भन्यो “तँ हाँस्न त राम्ररी जान्दैनस् जिन्दगीमा कहाँ नेर भेटाउँछस् रमाईलो एक पाईला समय ।” उ फेरि सिङ्गो पहाड उठेर उहीसँग दौडिहाल्ला झैँ गरी बेस्मारी हाँस्यो ।
खुसिका बिम्बहरु अनेक हुन्छन्, लुकासँगै अर्काे एक खुसिको पात्र सम्झन्छु काभ्रे र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदीको किनारा,उमेरमा पैंतीस कटेको हुनुपर्छ, नाम बिर्सें अहिले,तर अनुहारको स्ट्रक्चर आँखाको भित्तामा जीवित छ । पाखो बारीले उनको परिवारको पेट आधा वर्ष पनि जिम्मा लिन सक्दैन,लोग्ने अपाङ्ग छ । दुई ओटी छोरीले मनखुसि विहे गरे । अझै तीन ओटी छन् जसलाई समयले वँैस सम्म धकेलेको छैन नत्र उनीहरु पनि अगुवा दिदीहरुले जस्तै दौडिसक्थे होलान् । तर पनि उनी खुसिको एक प्रतिनिधि पात्र हुन् । पिठ्यूँमा साहूको ठुलो भारी छ, निदारमा पसिना , पैतलामा थकानको गति तर ओठमा ठुलो हाँसो,अनुहारमा कतै देखिदैन दुःखको मसिनो धक्रो सम्म । कुनै गुनासो छैन जिन्दगीसँग । कतै छैन दुःखको भर्याङ । लाग्छ यो इन्द्रवती पारिको क्षितिज भन्दा माथि उनको कतै सपना छैन । पाँच ओटी छोरी जन्माउदा,कुनै दिन लोग्नेले पकाएर खान दिन सकेन । दुबै हात नचल्ने लोग्ने छ । उनि भन्छिन “सुत्केरी हुँदा आफैले उठेर ढिडो मस्काएर खाँए । अहिले लोग्नेको भत्ता आउँछ । अरुका लोग्नेले स्वस्नी कुटेको देखेको छु तर मेरो लोग्ने त ठुलो वचनले पनि बोल्दैन, मया गर्छ, बनि बुतोले लोग्ने र छोरा छोरी पालेको छु अरुका लोग्ने कमाउन निस्कनछन् । म आफै कमाउन निस्कन्छु । अरुले स्वस्नी पाल्छन म लोग्ने पाल्छु । अरु केहि नपाए पनि मैले माय गर्ने लोग्ने पाएको छु । मलाई दुःख कहिल्यै लाग्दैन ।” उनी फेरि बेस्मारी हाँसेर उकालो लागिन ।
म यो कौसिबाट यी दुई पात्रलाई लागातार सम्झिरहेको छु ।
फरक भूगोल, फरक संस्कारका, यी दुई पात्र खुसिका प्रतिनिधि हुन । लाग्छ वुद्धले यी दुई पात्र उनकै पालामा भेटेका भए, “मान्छे किन दुखि हुन्छ ?” भनेर कारण खोज्ने थिएनन् होला ।
कहिले काँहि शहर भन्दा बाहिर दौडदा,खुसिमात्रै बाँच्ने पात्र भेटिन्छन् । उनिहरुको दुःख भुङ्ग्रो मै लुग्छ र जिन्दगी सेकाउने राप मात्र बाहिर निस्कन्छ । सहरमा चाहि जिन्दगी सेकाउने राप भित्र र चिसो खरानी बाहिर ।
सम्झन्छु सहर भनेको सपनै सपनाको आकास हो । खाली खुट्टा हिड्दा हिड्दै,सपिङमहलमा सोकेस भित्र सझाईएको जुत्ताको कल्पना हो । यहाँ खुसिको बिम्ब भेटिन्न, रहरको भूगोल हुन्न । यहाँ आफ्नो बाटो हुन्न, जस्तो बाटो छ उस्तो आफु हुनुपर्छ ।
मैले पछिलो पल्ट केहि नयाँ सहरिया साथीहरुको सँगत गर्न पाएको छु । कोही यतै हुर्केका हुन् । कोही हुर्के र यता आएका हुन् जसलाई यो सहरले निरास बनाएको छ र जिन्दगी सामान्य बाँचेर मात्र सक्न तिर लागेकाछन् । प्रायः बेरोजगार छन् । समय कसरी विताउने भन्ने कुरामा मात्र चिन्ता गरि रहेकाछन् । ती साथीहरु चोकमा अबेर सम्म बसेर आफुले सकेको सैलीमा गफ गर्छन् । जागिर खोज्दा खोज्दै थाकेका अनुहारमा थेतरो पना मात्र छ । कोही त लागु औषद्यको प्रयोगमा मज्जैले फसेकाछन् । सबै पढेलेखेकाहुन । उनिहरुको सपनाको सिमाना छैन । एक बिसाल आकास नापि हिड्ने चराहरु जस्तै आफुले सकेको भूगोल नापि हिड्ने पैतला मात्र छ उनिहरुसँग । रहरको अदिम ज्वाला छ । मैदान जस्तै फाटिलो जोस छ, जाँगर छ, तर पनि निरास छन्, हतास छन् । एैना अगाडि उभिन्छन् र आफ्नो उमेरको हिसाब गर्छन सकिन अव केहि वर्ष मात्र बाँकि छ ।
म कौसिमै छु । एक जोडी चराहरु मेरो टाउको माथि बाट आँखाले देखुन झेल सम्म उडि रहे । लाग्छ यी चराहरु मान्छेलाई प्रेम सिकाउन उडिरहेकाछन् । घाम रातो रगंमा बदलिन खोज्दै छ । चिसो त्यति छैन । यो वसन्तको घाम मेरो जिउ छामेर ओरोलो खस्ने अन्तिम तयारीमा छ ।
म कौसिबाट ओर्लन्छु र फेरि लुकालाई सम्झन्छु । केहि दिन अगाडी देखि लुकासँग अनलाईनमा खुसिका कुरा र रमाउने अनेक तरिकाको विषयमा गफ भैरहेको छ । आज पनि अफलाईन मेसेजमा लुकाले लेखेको रहेछ । “ भ्रम पनि मिठो हुन्छ, एउटा सुन्दर कल्पना जस्तो,देख्दा देख्दैको सपना जस्तो । रमाउने तरिका फरक हुन्छ,खुसिहुने बाहाना अनेक हुन्छन् । रमाउन जान्नु पर्ला,हेरि रहे बादलमा पनि आफ्नो अनुहार भेटिएला,दोडदा दौडदैको मोटरको धुवा,घर छेउको पिपलको रुख,हरियो चौर,आफनै घरको धुरी वा गरि गरि आफ्नै देसको नक्सा आदी आदी बादलमै पनि भेटिएला । यो बादलसँगको भ्रममा पनि आन्नद छ । सुदुर जीवनको कल्पना,लोभ लाग्दा सपनामा पनि सोन्दर्यता छ । सायन तेरो देसमा रमाउने हजार बाहानाछन् रमाएर हेर ।” अगि म कौसिमा बादलसँग त्यतै हराई रहेको थिए । अहिले ठ्यक्कै लुकाले त्यहि भावको मेसेज पठाएछ । मैले लुकाबाट हिजो अस्ति नै यो कुरा सिकेको हुँ या मैले आफैले जानेको हुँ ? जे होस रिप्लाईमा लेख्छु “लुका तँ मेरो देसको सोन्दर्य देखेर सम्झि सम्झि हाँस,म तलाई सम्झेर, हा.......हा........।

3.02.2012

ल्हासो कालिञ्चोक

ल्हासो कालिञ्चोक

रमेश सायन
rashayan@hotmail.com


सहरको उज्यालोभन्दा अलि पर । चिसो तर फोहोरी बतासभन्दा अलि टाढा । संगीत बिथोल्ने हल्लाभन्दा उ पल्लो भूगोल, इन्द्रेणी आकाशलाई छेकेर समयको युद्ध गर्ने बिहानभन्दा माथिल्लो मिरमिरे र पहिलो पल्ट आफैँलाई चिमोटेर ब्युँझाउनुपर्ने प्राकृतिक सोन्दर्यको समाधिमा छु, यतिखेर ।
यहाँ मैले आफैँलाई राम्ररी सम्झेको छुइनँ । अरुलाई सम्झने कुरा त झन् शून्यभन्दा पनि तल खसेको छ ।
म यो उमेरसम्म आइपुग्दा मेरो पैतलाले धेरै भूगोल छामेको छ । टाउकोमा हिमाल, पहाड, तराईको घाम ठोक्किएको छ । अनुहारमा समयले पोतेको घाम पानीकोे रंगीन रेखाको सुदूर सुरुङ छ । तर पहिलो पल्ट यसरी हिउँ राम्ररी छुन पाएको हुँ, हत्केलाले राम्ररी खेलाउन पाएको हुँ । जुत्ता खोलेर राम्ररी खाली खुट्टा दुई मिनेटसम्म उफ्रन पाएको हुँ ।
धन्यवाद मिंगुर शेर्पा ।
काठमाडौँको हल्लाखल्ला, धुलो र फोहोरको बीचतिरै मलाई कालिन्चोकको यात्राको निम्तो दिएका थिए मिगुंरले । उनी पेसामा होटल र यातायत व्यवसायी हुन् । टुरिजम क्षेत्रमा पनि राम्रै रुचि राख्छन् । मिंगुरले, मलाई शेर्पा लवजमा कालिञ्चोकको सोन्दर्यता सुनाइरहँदा मन हत्तारिरहेको थियो । त्यसको ठिक चार दिनपछि म चरिकोट पुगिसकेको थिए ।
मिंगुरले हामीलाई साना जिपबाट यत्रा गर्ने सल्लाह दिइरहेका थिए । तर सुनिल कार्की र मैले मोटोरसाइकलको यात्रा रोज्यौँ । चरिकोटबाट उकालो चढ्दै जाँदा आँखै अगाडिको गौरीशंकरको उचाइ पनि घाँटीभन्दा माथि उक्लन नसकेको जस्तो लाग्थ्यो । कुइरो लिगलिग कोटको दौडमा द्रव्य शाहको अगाडि घलेहरू जस्तो मात्र देखिन्थे । कुइरोको उचाइभन्दा माथिको यत्रामा हामी छौँ । जसोतसो मोटर दौडाउन सक्ने मात्र बाटो छ । लम्बाइ छ चौडाइ छैन । कतै–कतै श्रमिकहरू बाटो बनाइरहेका भेटिन्छन् आँखाले छाम्न सकुन् झेलको उचाइ छ । फेदीको कल्पना मात्र गर्न सकिन्छ । हतारमा पात खसिरहेको डरलाग्दो जंगलको बीचैबीच उकालै उकालोको यत्रा । उचाइ उचाइ नै हो रहेछ जतिमाथि गयो उति रमाइलो । उति आन्नद । त्यसै मान्छेहरू सगरमाथाको दौडमा ओइरो लागेका होइन रहेछन् ।
बिहानको नौ बजेको छ । तल चरिकोेबाट उकालो लागेको दुई घण्टा बितिसकेको छ । कुरीबजारमा भाँडामा जमेको पानी एक सुन्दरी युवतीले सानो घनले फुटाइरहेकी थिइन् । एक्कासी हिउँहरूको सेताम्मे बस्तीमा पुग्दा म चिच्यएँछु, कराएँछु, आँखाबाट आँसु झरेछ । म हिउँमाथि छु आँखाले हिउँ छामिरहेछ । हत्केलाले हिउँ समातिरहेछ । पैतलाले हिउँ नै टेकिरहेछ । सानो तर सुन्दर कुरीबजार शान्त छ औधी शान्त । साहेद सबै सुन्दर कुरा शान्त हुन्छन् । मलिन हुन्छन् । नरम हुन्छन् । त्यही भएर फूल शान्त भएको होला, शिशुको अनुहार मलिन भएको होला । संगीत मनलाई समेत पगाल्न सक्नेगरी नरम भएको होला ।
हिउँमा उफ्रिदा म राम्रैसँग लडेको छु । घुँडामा चोट लागेको छ तर दुखाइको गति मन्द छ । दुखाइतिर ध्यान गएको छैन । यही चोट काठमाडौँको हल्लाखल्लामा लागेको भए यो दुखाइको गति राम्रै हुने थियो होला । म हतारमा डक्टरकोमा पुग्थे । हतारमा पेनकिलर खाने थिएँ । एक्सरे गर्थँे र हतार मै चिन्तामा डुब्थे होला तर यहाँ त्यस्तो केहीको आवश्यकता महसुस भएको छैन । कुनै हिउँले भरिएको भित्तो, कुनै रुखको बुटो, कुनै चुच्चो ढुंगो, संगीतको शैलीमा उभिएका पहाडका थुम्का सबै क्यमेरामा कैद गरिरहेँ । बासी र चिसो खाना नपाइने कुरीका यी सुन्दर होटलहरूमा खाना अर्डर गरेको दुई घण्टापछि मात्र पाइँदो रहेछ । वा नाकै ठोकिने उकालो बाटोको अन्तिम टाकुरामा कालिन्चोक भगवतीको दर्शन गरेर आएपछि मात्र ।
कुरी बजारमा होटलहरू मात्र छन् । खानेपानीका पाइपहरू हिउँले पुरेको छ । मुहान जमेको छ, धाराको टुटीबाट पानी खस्दैन । हिउँ उमालेर खाइन्छ हामीले पनि हिउँ पगालेर पानी खायौँ । कालिन्चोक भगवतीको मन्दिर पुग्ने रहर छ तर आँखाले उकालो नाप्दा मनसँग पैतलाले ठूलै युद्ध गर्नुपर्छ जाउँ कि नजाउँको अन्तमा मनले युद्ध जित्छ र पैतला लुखुर लुखुर उकालो लाग्छ । राम्रै हिँड्नेलाई पनि दुई घण्टा लाग्दोरहेछ । हामी तराईमा हुर्केकाहरूलाई समयको सीमा तोकेर भन्न नसकिने रहेछ । तर हामीलाई थकाइको कतै महसुस भएन । कतैकतै भीरसँग रम्रै डरसम्म लागेको हो । हात खुट्टा दुवै टेकेर उकालो चढिरह्यौँ । फेदीतिर स्थानीयले लौरो टेकेर जानु भनेर सुल्जाइरहेका थिए । तर हामीले लौरो टेकेर हिम्मत घटाएनौँ । एक÷दुई हुल यत्रु माथि मन्दिर पुगेर ओराले झरिरहेका थिए । उनीहरूको अनुहार युद्ध जितेर फर्केको बहादुरको अनुहार जत्तिकै उज्यालो थियो । कतिलाई चाहिँ उकालो चढ्दा चढ्दै बाटोमै जित्यौँ र अगाडि बढ्यौँ । केही मोटा मान्छेहरू हाम्रो पातलो शरीर देखेर इष्र्या गरिरहेका थिए । सुनिल त्यो भीरमा पनि बाघ सम्झन्थे र भन्थे यहाँ अहिले बाघ आए हामी के गर्नु ? म बेसमारी हाँस्छु मेरो हाँसो पहाडमा ठोकिएर फेरि एक मिठो लयमा मैतिर फर्कन्छ । बिचरा बाघ यो उकालोमा कसरी चढ्न सक्छ र यहाँसम्म आइपुग्छ ? लु आइनै हाले पनि यहीँ भिरबाट लडेर मर्छ । हाम्रो गफ सुनेर यत्रुहरू मझैले हाँस्छन् र केही सेकेन्ड भए पनि उकालेको पीडा राम्ररी बिर्सन्छन् । ३,८४३ मिटर अग्लो यो टाकुरामा पैतला एक बिन्दास पारमा बिसाउँछौँ । फनफनी घुम्छौँ । सानो चौडामा फैलिएको यो टाकुरामा कालिन्चोक भगवतीको छानो बेगरको मन्दिर छ । त्रिशुलै त्रिशुलको भीड छ । हिन्दु र बुद्ध धर्म मान्नेहरू एकै ठाउँमा जम्मा हुन्छन् । आ–आफ्नै विश्वास बिसाउँछन् । आ–आफ्नै शैलीमा भगवती रिजाउँछन् । चारैतिर मन्त्र लेखिएका ध्वजा टाँगिएको छ । केही औधी डरलाग्दो ठाडो सिँडी चढेर यहाँसम्म पुगिन्छ । माथि टाकुरामा गणेश हिमाल, गौरीशंकर, लाङटाङ हिमाल निधारसम्म आएर उभिन्छ । आँखैभरि हिउँ नै हिउँ जम्छ तलको कुरीबजार उठेर हिँडिहाल्ला जस्तो लाग्छ । भिर पहराहरू हामीसँग बोलुँलाझैँ गर्छन् । थकाइ भोक प्यास सबै बिर्सिन्छ । बतासको कलिलो स्पर्श उस्तै मिठो संगीत उस्तै लय मिसाउने ती चुच्चाचुच्ची टाकुरा त्यो अन्तिम मनवीय पैतला टेकिने भूगोल । हो, त्यो भन्दामाथि कुनै मानवीय बस्ती छैन । अघि उकालो चढ्दाचढ्दै लागेको थियो ईश्वरलाई यति अप्ठ्यारो ठाउँमा अएर किन बस्नु परेको होलो । तेस्तै कुरीबजारकै छेउतिर बसेको भए पनि भैहाल्थ्यो नि । अहिले बल्ल थाहा भयो । ईश्वर भनेको सौन्दर्य हो रहेछ । वा ईश्वरलाई पनि हामीलाई जस्तै सोन्दर्य मात्र मन पर्दाेरहेछ ।
यहाँ जताततै कविताको संगीत छ । जताततै महाकवि देवकोटा उभिन्छन् । रिमालका सपना बाँच्छन् । चराहरूले नापेका आकाश भेटिन्छ । नगबेली नदी देखिन्छन् । वर्डस्वर्थ झर्ना बनेर उभिन्छन् ।
यसपछि हामी ओरालो झर्छाँै । अघि नै अडर गरेको खाना खान्छौँ । शेर्पाहरूको आफ्नै लवजको गफ सुन्छौँ । ईश्वरमाथिको तर्क सुन्छौँ । पे्रमिल छ बतासको स्पर्श, चिसो तर एउटा मादक बास्ना हिउँ माथिमाथि दौडन्छ, त्यतिकै मैले यो ठाउँमा आफैँले आफैँलाई चिमोटेर बिउँझाएको होइन रहेछु । स्थानीयहरूको बहस सुनिरहेको छु । बुद्धिष्टहरू बलि चढाउन हुन्न भन्दारहेछन् । उनीहरू यही कुरामा तर्क बलियो बनाउँदा रहेछन् तर हिन्दुहरू बर्षैैभरि बलि भाकेर राख्छन् । जिउँदा पशुपंछिहरू यो ठाडो उकालोमा घिसार्दै पु¥याउँछन् र अन्तिम पल्ट हिमालको सौन्दर्य देखाएर मार्छन् । सम्झन्छु ती बलिमा चढ्ने पशुपंछिले पनि पीडा कम भएको महसुस गर्छन् होला यो विशाल सौन्दर्यको अगाडि ।
चरिकोटबाट केही घण्टाको मोटर यत्रापछि पुगिन सकिने रहेछ यो ठाँउमा । अब हामी फर्कन लागेका छौँ । कुरीबजारका होटलहरूमा बेसमारी आतित्थ्य पायौँ जसले औधी मिलनसार आफन्तको सम्झना दिलायो । फेरि भोलिदेखि भीडभाडमा गज्याङमज्याङ जिन्दगी बाँच्नु छ । आफूलाई अगाडि दौडनु छ ।
फेरि मनले भन्छ ल्हासो कालिञ्चोक ।

2.12.2012

भूँई तिर खसेका पखेटा र आकास छुन उडेका सपना

रमेश सायन




यति खेर म मातिन शुरु गरिसकेको छु । सायनले पिउँदैन भन्यो भने धेरैले पत्याउँदैनन् र पिउँछ भन्यो भने पनि उक्तिले नै पत्यउँदैनन् ।
दिनले भरखरै आत्म हत्य गर्यो । रात जूनकीरिको पुच्छरमा अडिएको छ । मैले केटाकेटीको कुरा सम्झिएँ । आमाले जुठेल्नामा भाँडा माझिरहेको बेला आमालाई जूनकीरी देखाउदै भन्थेँ “आमा मलाई जूनकीरी बनाई दिनु, म पनि जूनकीरीले जस्तै बत्ति बालेर माथि मामा घर पुगेर आउँछु ।” आमासँग झगडा गरिरहन्थे । आमाले फकाउँदै भन्नु हुन्थ्यो “तँ त मान्छे हुनु पर्छ ज्ञानी ठूलो असल मान्छे , फेरि यो जूनकीरी कहिल्लै खादैन यो त पुच्छरमा बत्ति बालेर उडी मात्र रहन्छ, तँलाई भोक लागिरहन्छ । जूनकीरी भईस भने खान पाँउदैनस्” भन्नु हुन्थ्यो । मलै भोकको डरले जूनकीरी हुन्न भनेको थिँए ।
रक्सी पिएको बेला चरा हुन मन लाग्छ । सुदुर भएकी प्रेमिकालाई भेटेर हिमाल देखाउन मन लाग्छ । चुल्ठो भरी गुँरास सिउरिदिदै पहिलो पल्ट उनको मन पग्लने संगीत उपहार दिइएर , आजको घामले आत्महत्य गरे झै मर्ने रहर पलाई रहन्छ ।
आज बिहान मेरो घरमा एक जना गाईने आएर बेथितीको संगीत बजाएर गयो । मैले उनको घर, ठेगाना र नाम केही सोधिन । रु बीस दिए पछि आधा संगीत बजाउँदा बजाउँदै मेरो घरको पीडिबाट बहिरियो । अहिले मलाई उनको संगीतमा नडुबेको मा दिन भरिकै सबै भन्दा हिट पछुतो लागिरहेको छ ।
अगि भन्दा अहिले अलिक बढी मात्ति सकेकोछु । वइटरले मेरो गिलासमा एक पेग थपेर गएको छ । म झ्याल नेर छु । बाहिर एउटा चेरिको रुख छ । सानो सुकेको हाँगोमा मेरो जस्तै जिन्दगी बोकेर सकि नसकी एउटा लार्भा उकालो लागिरहेको छ । लार्भाले यो सुकेको हाँगोमा के खाला ? र कहिले पुतली बन्ला ? कहाँ पुगेर थाहा पाउला ? म सुकेको हाँगोमा छु । मेरो यात्रा ओरालै हो । पुतली हुन मैले हरियो हाँगो र कलिला पातहरुमा पुग्नु पर्छ ।
अघि वाइटरले थपेको एक पेग सक्कि सकेको छ । हाँगो भुलेको त्यो लार्भा र मेरो जिन्दगी कहाँ नेर फरक छ ? म सोचि रहेको छु ।
एम. ए. प्रथम श्रेणीमा पास गरेको एक वर्ष भयो । अक्षर मात्र चिनेको २२ वर्ष पुगे छ । साँझमा पिउने पैसा नपुगेर साथी भाई सँग जिन्दगी चलेको कति हो कति ।
वर्षादमा खोल्साले पनि संगीत बोकेर ओरालो झर्छ र नदी सँग भन्छ “तेरो जस्तो संगीत म सँग पनि छ तँ जति धमिलो छस् म पनि उत्तिनै धमिलो छु भन तेरो मेरो बग्नै शैलीमा काहाँ नेर फरक छ ” हिउँदमा उहि खोल्सोले रुप बदलेर मलाई भन्छ “ भन सायन तँ र म मा कहाँ नेर फरक छ ?, वर्षादमा धमिलो संगीत बोकेर ओरालो झर्छु र हिउँदमा तँ जस्तै उराठ बाच्छु ।”
मेरो जीवनको समानान्तर रेखा बाँच्ने त्यो लार्भा , त्यो खोलो र यो देशको आधि भूगोल छ मसँग । मनले भन्छ “ एक्लो तँ मात्र कहाँ छस् सायन । वइटरले अर्को पनि पेग थपेर गएको छ ।
पछाडि मेरै उमेरको एक तन्देरी आएर एकदुई पेग लगाई सकेको छ । उसँग बोल्न आबश्यक ठानिन । हेर्दा मेरो भन्दा पनि खराब जीन्दगी गिलासमा तैरिरहे जस्तो लाग्थ्यो । यो अहिले नै रक्सी पिउँदा पिउँदै भु्कलुक्क मर्यो भन,े मलाई उस्को मृत्युको ठूलो ईश्र्या लाग्ने छ । अगाडी पछाडीको टेवलको सम्बन्ध यति हो यो साँझमा यो सगँको । अहिले तल माथि हल्लि रहेको छ यो पिउनु को नियमित आकासमिकता होे । पिउन अलि गाह्रो भएको छ । भुपिलाई सम्झिएँ “पिउन कति गाह्रो छ पिएर त हेर साथी ।”
आगाडिबाट होटल साहुनीको ठूलो स्वर सुने “गवरा लागेको केरा जस्तो” कसलाई के अर्थमा कराई खास अर्थ राखिन । तर साहुनीको यो आवजले केहि सेकेन्ड रक्सीले छाडेको भ्रम भयो । सम्झेँ मेरो पनि त जीवन कहाँ सग्लो, सिधा, सरल , केराको थाम जस्तो छ र कँहि कतै नमिलेको बाछिटाले हानेको माटाको लिउन जस्तो । नागबेली सपना बिहान बेलुका अल्झिन्छ । भोलि बिहान कस्तो बाँचिएला ? कहाँ पुगिएला ? बालकले केरेको निर उद्घेश्य कर्ङमर्यङ रेखा जस्तो ।
अगाडिको टेवलमा चालिस नागेका जस्ता दुई जना आएर बसे । उमेरमा मेरा बा जस्ता छन् । रेड लेब रक्सीको एक÷ एक पेग मागेर केहि सितन सँग पिउन थाले ।
मैले बेसमारी पिएको छु तर होस ठेगान मै छ । चुपचाप बसि मात्र रहेको छु ।
एउटाले देशलार्ई गालि गर्यो , अर्काेले नेतालाई , देश खराब भन्यो, खत्तम भन्यो ,यो देश मै बस्दिन भन्यो । हिमालको सौन्दर्यतालाई गालि गर्यो र लरबराएको स्वरमा अरु थप एक÷एक पेगको अडर गर्यो ।
बिजुली निभ्यो । कोठा एक बराबर रंगमा बदलियो । साहुनीको मिलेको अनुहार ,अगाडि टेवल माथिको महंगो रक्सीले भरिएको गिलासको आयतन, मेरो हल्लि रहेको आकाश, पछाडिको टेवलको निरास अनुहार कालै भए पनि एक रगंमा बद्लियो ।
वइटरले मैन बत्ति बालेर टेव टेवलमा राखि दियो । मैले आफ्नो लामो नाक, गहिरा आँखा चुस्स पालेको दारी, गहिरा गाला एक सरो छामेर भ्याए । समयले जीवन ओरालो खसाले झै मैन पग्लिएर थोपा थोपा भूई तिर खस्यो ।
अगाडिका दुईटैले चुरोट सल्काएर धुवाँ मास्तिर उडाए । धुवाँमा कतै मेरै नाक जस्तो आकृति बन्यो, कतै झिंगाको जस्तो पखेटा, कतै बिरालाको जस्तो आकृति , घरि आफ्नै देशको जस्तो नक्सा ,घरि आफ्नै प्रेमिकाको उदास आकृति , घरि सबै हरिया पात झरेको उजाड रुख जस्तो ।
यहाँ पनि कतै नमिलेको मेरो आफ्नै जिन्दगी जस्तो ।
मैन आधा पग्लिसकेको छ । यहाँ अहिले अलि शान्त जस्तो छ । अगाडि अछाडिकाले बोलेको खास सुनेको छुईन । वइटरले थप पेग र खानेकुराको बारेमा सोधेको छैन । एउटा पुतली बलिरहेको मैनकोे ज्वालामा आएर ठोकियो । पखेटा पोलेर अलि पर गएर लड्यो । फेरी सकि नसकी ज्वालामै आएर मुख जोतेर भूई तिर खस्यो । छटपटाउँदा छटपटाउँदै एक छिन पछि शान्त भयो ।
उज्यालोको सपना बोकेर हिड्दा हिड्दै कहाँ पुगेर पुतली झै मरिदो हो । मैले मृतु सम्झें ।
आगाडिका ती दुई उठेर बाहिर लागे । बाहिर कुकुर भुक्यो । मैले पनि खाएको बिल तिरें । एकाध मिनेट पछि म पनि बाहिर लागे । मलाई देखेर पनि कुकुर भुक्यो । मैले कवि बोनम प्रतापलाई सम्झिए । उनिसँग पिउँदा प्रया भन्छन् “ रेड लेवल, ब्ल्याक लेवल वा कोदाकै लोकल पिए पनि उहि हो, उस्तै हो गति , उस्तै हो मातिनुको नसा, उहि हो हल्लिनुको रंग, खुट्टा लरखराएको देखे पछि कुकुरले जे पिए पनि हेपेरै भुक्छ ।
बाहिर पंखेटा खसेका छिचिमिराहरु भँई भरि लडिरहेका थिए । सपना बोकेर आकश छुन हिडेका छिचिमिराको पनि मेरो जस्तै एका तिर सपना बोक्ने पखेटा र अर्काे तिर जिउ खसेको थियो ।
बिराटनगर ९८४२०४५६९३
चबकजबथबल२जयतmबष्।िअयm

2.09.2012

टुकुचाको किनारामा एक साँझ

टुकुचाको किनारामा एक साँझ

रमेश सायन
टुकुचा औधी धमिलो बगेको छ । म पुलैमाथि छु । सवारी साधनहरू, आफ्नो कडा हेडलाइटले मेरो अनुहार छामेर हतारमा दगुरिरहेका छन् । रात आफूलाई बैंशालु बनाउन हतारिरहेको छ । जसको प्रतिनिधित्व महानगरपालिकाले बन्ध्याकरण गरिदिएको भुस्याहा कुकुरको अन्तिम वंशले गरिरहेजस्तो लाग्छ । जुन घिनाउँदै टुकुचामा खसेको छ । बादलमा आफ्नो अनुहार लुकाउन नसकेकोमा अहिले जुनलाई बढो पछुतो लागेको हुनुपर्छ । मेरो शरीरबाट आइरहेको सेक्सी एपेक्स पर्फ्युमको गन्धसमेत टुकुचाले खोसेर आफ्नो अमिलो गन्धमा मिसाइसकेको छ । मेरो नाकले यो फोहोरी टुकुचाको गन्धसँग एकोहोरो युद्ध गरिरहेको छ ।
काठमाडौंको सिङ्गो सभ्यता चोभारको छिँडीबाट ओरालो खसालेर टुकुचा ओरालैओरालो बग्छ । गंगाको किनारमा नभनिदियोस् हाम्रो कठमाडौंको मकाएको सभ्यता । उता कतै नसम्झियोस् काठमाडौंको आफ्नो पूर्वरूप । मैले मनमनै टुकुचालाई अनुरोध गरे ।
अहिले सहरको सडक मेरो हो भन्दै हिँड्नेहरूको संख्या विस्तारै खहरे खोलोको रूपमा अगडि आइरहेको छ । जसले टुकुचालाई गाली गर्ने सही समय सम्झेर गर्वका साथ धित मर्नेगरी गाली गरिरहेका छन् । जसका आँखाले मलाई समेत एकै शैलीमा मिसाएर आफ्नै लाइनमा उभ्याउन भ्याइसकेका छन् । एउटा मान्छे खुट्टा लरखराउँदै मेरो अगाडि उभियो र लरबराएको आवाजमा मलाई भन्यो, “जीन्दगी रक्सी जस्तै स्वादिलो भैदिए दुनियाँले मेरो जिन्दगी पनि स्वादहरूको सूचीमा दर्ता गर्थे होलान् तर जिन्दगी सधैँ पिइसकेको खाली सिसी जस्तो मात्र भइरहन्छ ।” रक्सी पिएको बेला कहाँबाट आउँछ यसरी जिन्दगीसँग गहिरिने दर्शन ? म गम खान्छु ।
किन बोल्नु यो मान्छेसँग ?म केही बोलिनँ । ऊ आफ्नै सुरमा बोलिरह्यो । म टुकुचामा गन्ध सुँघ्न उभिएको यो रातको यो पुलमा । ऊ टुकुचामा गन्ध मिसाउन आएको हो । कारण फरक छ । तर ऊ पनि म जाने बाटोतिरै लरखराउँदै अगाडि लाग्यो । म भन्दा निक्कै पाको उमेरको यो मान्छे, जीवनको पठशालामा म भन्दा अब्बल दर्जाको हुनुपर्छ ।
म अघि नै घर पुग्नुपर्ने मान्छे । साँझतिर बाल्मीकि क्याम्पसमा भेट भएका सबै कवि मित्रहरू घर पुगिसकेका हुनुपर्छ । म पनि घरै जान्छु भनेर हिँडेको थिएँ । बीचैमा टुकुचाको पुलमाथि उभिने रहर लाग्यो । रहरको अगडि कसको के लाग्छ । यो रातमा यो पुलमाथि टोलाउनुको करण केही छैन ।
सरकारले सुरक्षा व्यवस्था रामै्र गरेको छ । महानगरपालिकाको प्रहरी बोकेको गाडी मेरो अगाडिबाट गयो । मलाई केही भनेन । यो लगभग दुई घण्टाको बीचमा त्यो रक्सी पिएको मान्छेबाहेक अरू कसैले पनि केही भनेको छैन सायद भन्नै पर्नेगरी असामान्य भएको छुइनँ, अहिलेसम्म । तर जरुर म अझै केहीबेर यसैगरी उभिरहेँ भने मलाई पुलिसले आफ्नै शैलीमा सोधपुछ गर्नेछ । झोला खनतलासी गर्नेछ र भर्खर पढिसकेको तर झोलाबाट निकालेर नथन्क्याएको लियो टल्सटायको सारै भद्दा र गज्याङमज्याङ पात्रहरूको लामो उपन्यास तर असाध्य सुन्दर ‘वार एण्ड पिस’ र लामा कविताहरूको सानो र सुन्दर किताब वैरागी काइँलाको ‘अन्धामान्छे र हात्ती’ भेट्नेछ । म यहाँ उभिनुको कारण सोध्नेछ । म कारणमा, टुकुचाको गन्ध र सहरको सभ्यता बुझ्न उभिएको हुँ भन्नेछु ।
सामुन्ने थोत्रा कपडा र पुराना बोराले आफ्नो शरीर छोपेर सडकको ल्यमपोष्टमुनि झोक्राई रहेको मेरै उमेर बराबरको जस्तो लाग्ने त्यो मान्छेकै हाराहारीमा मलाई बुझेर, पुलिसले चुपचाप छोडिदिनेछ । मलाई बेवास्ता गर्नेछ र कुनै केरकार गर्नेछैन ।
रातिको साढे दस बजेको छ । अब लगभग सडक सुनसान जस्तै भइसकेको छ । टुकुचाको किनारामा उभिएको घरको तेस्रो तलाको झ्याल खुल्यो मैले मान्छेको अनुहारै त देखिनँ तर एउटा प्लाष्टिकको पोको खस्यो र पानीमा आफ्नै लयको सङ्गीत बज्यो । त्यो प्लाष्टिकको पोको जुन र बिजुलीको उज्यालोमा मेरो आँखाको रेटिनाबाट टाढा बग्न नसकेर त्यतै किनारातिर अल्झी बस्यो । जसरी अल्झिएका छन्, स–साना सपनामा हामी नेपालीका लामा र पट्यार लाग्दा जिन्दगीका लाइनहरू । जसरी अल्झिएका छन् सरकारको हुटिट्याउँले आकाश थाम्ने उखानको योजना ।
म आफ्नै पारामा बगिरहेको छु । एकजना कवि मित्रको फोन आयो । मैले नढाँटी भनेँ “म टुकुचामा छु ।” उनले पनि नढाँटी भने, “म ठमेलमा छु ।” लगत्तै मलाई ठमेल आउने निम्तासँगै उनको रात्रिकालीन जीवनको ठेगाना दिए । तर मलाई घर जानु थियो । अब हल्लाखल्लामा मेरो मथिङ्गल बिथोल्नु थिएन, आउँदिन भनिदिएँ । टुकुचाको गन्धले मलाई एक तमासको तनाव दिइरहेको थियो ।
घरतिर लाग्दै गर्दा टाउकैमाथिको होडिङबोर्डले मेरो पैतला रोक्यो । हुन त यो सहरैभरि होडिङबोर्डै होडिङबोर्ड छ तर यो अमिता बच्चनको डाबर च्यावनप्रासको यो विज्ञापनिक बोर्डले मलाई लुते भइस् भनिरहेको जस्तो लाग्यो । मैले एकसरो आफ्नै आँखाले आँखाभन्दा मुनिको आफ्नो शरीर हेरेँ भ्याए । त्यसकै ठिक पारिपट्टी शाहरुख खानको फेयर एण्ड हेण्डसमको निक्कै ठूलो होडिङबोर्डले पनि मेरो कालो अनुहारलाई जिस्क्याएर भनिरहेझैँ लाग्थ्यो, “सायन समयको पासा पल्टा तँलाई कसैले पत्याउँदै यो टुकुचाको किनारामा, अब गोरो हो, तेरी प्रेमिकाको योग तँलाई हैन तेरो छालालाई प्रेम गर्ने परेको छ ।”
तर मैले यी कुनै विज्ञापनलाई टेरिनँ । खास वास्ता गर्न खोजिनँ र सरासर अगाडि लागेँ । यी मल्टिनेसनल कम्पनीले आफ्नो साम्राज्य कलिला टिनएजर्स्देखि पाकासम्म फैलाएका छन् । बलेसीदेखि चुलो र आँखाको नानीसम्म पुगेका छन् । हामी नेपालीलाई फकाइ–फकाइ आफ्नो व्यापारको शैली बोकेर यो सहरको छातिमा गर्वसाथ उभिएका छन् ।
लाग्छ यो टुकुचाको किनारमा समयको राजमार्ग आफ्नै गतिमा दौडन्छ । किनारामा सपनाहरू पनि सुकिलै उभिएका छन् । किनारमा एकाध फूलहरू पनि आफ्नै बैंशमा फुलेका छन् । यसको गन्ध नियमित जस्तो छ । बाह्रैमास एकै गन्ध हावाको पिठ्यूँ चढेर आकाशमा फैलन्छ । गन्धहरूको दर्शक नियमित निःशुल्क आउँछन्÷जान्छन् ।
पोहोर साल जन्मेको बालकले आमा भन्न जानेको छ । आफ्नै पैतलाले भूगोल छामेर उभिने कसरतमा छ । समयको टुँडिखेलमा बादशाहको शालिक नाघेर घोडाहरू आफ्नै दौडमा छन् । तर बिचरा यो टुकुचा कहिल्यै सुकिलो बग्न सकेन । छाति फुलाएर सहरको सभ्यातामा उभिन सकेन ।
घण्टाघर ठिक समयमा बाह्र बजाउँछ, कुखुरो ठिक समयमा बिउँझन्छ, चराहरू ठिक समयमा गुँड फर्कन्छन् । वसन्त सालै पिच्छै ठिक समयमा आइपुग्छ । ठिक समयमा मुनाहरू हाँगामा देखिन्छन् । सबै ठिकठाक दुरुस्त छ । गमलामा गुलाफको फूल आफ्नै गतिमा फुल्यो, फक्रियो, आफ्नै गतिमा ओइलियो र झ¥यो ठिक समयमा आफ्नो बास्ना हावामा पठायो । म घर पुग्न लागेको छु तर टुकुचाको गन्धले रिङ्गटा लाग्ला जस्तो भइरहेको छ । टुकुचाको सभ्यताले बेसमारी मथिङ्गल बिथोलिरहेको छ । किन टुकुचा ठिक समयमा बिउँझन सक्दैन ? किन टुकुचा ठिक समयमा उठेर हिँड्न सक्दैन ? किन समयभन्दा पछाडि छ टुकुचाको सहरी सभ्यता ? किन टुकुचाको सङ्लिने धर्म बिथोलेर हामी शानसँग यो सहरको नाम जोडेर दौडन्छौँ ? म अहिले फनफनी घुमिरहेको छु, टुकुचाको गन्धसँग ।
पानी, असिना र हिउँको पुर्खा वाफ हो । उकालोको पुर्खा ओरालो हो र ओरालोको पुर्खा उकालो हो । हिउँदको पुर्खा वर्षाद् र वर्षाद्को पुर्खा हिउँद हो । एकको पुर्खा शून्य र दुईको पुर्खा एक हो । म सम्झन्छु यो टुकुचाको गन्धको पुर्खा धरहराझैँ उभिएको सहरको आधुनिक फोहोरी सभ्यता हो ।

1.08.2012

एउटा राजमार्ग सपना

रमेश सायन
rashyan@yahoo.com
अहिले म सुनकोशी किनारामा छु । बाटो सिधा छ निलो नदी आफ्नो गन्तब्य नबिसर्ि ओरालो बगेको छ । हरियो पहाड हरियो संगीत बोकेर जूनसँगै नदीमा खसेको छ । मंसिर महिनाको चिसो मेरो आंङ्गमा साम्राज्य फैलाउन खोजिरहेको छ । मैले अमेरिका सम्झेँ । म चिसोसँगको युद्धमा छु । बैँसमा मेरी आमा माइत जान श्रृङ्गारिएकी झै देखिने नदीमा खसेको यो जूुनले मेरो मन पहाडका भित्ता-भित्तामा टाँगेको छ ।
भर्खर-भर्खर मंसिर उठेक७३डद्दण्छसो बाँ´ाे खेत दसैमा पोतेका घरका राता भित्ता, लोग्ने बिदेसिएको गोरेटो बाटो, चिसो रात, सङ्लो जून, बतासमा मिसिएर आउने सम्झनाको घोल, सानो नानीको स्कुल जाने बाटो, धेरै बृद्ध आमा बाबुको लहरे खोकीको औषधि,लाहूरी भँैसीको दुध डेरी पु्र् याएर फर्केको खाली डुंग्रो,धेरै एन.जी.ओ.,आइ.एन.जी.ओ. को सपना, होटलमा काम गर्ने केटाकेटीहरुको बिहानबेलुका जोडिने गाँसको सपना, किसोर किसोरीको सुदुर प्रेमको काल्पनिक संसार आदि आदि यही सुनकोशी किनाराको राजमार्ग भएर ओहोर दोहोर गरिरहन्छन् ।
म रिभर साईड रिसोटको बातानुकुलित कोठाबाट बाहिर नदी किनारामा छु । शान्त हुन नसिकेको यो नदीले जूनसँगै खसेको मेरो अनुहार पनि हल्लाई रहेको छ ।
यो राजमार्गले छातीमा आफ्नै कथाको तक्मा भिरेर यो रातको चिसोमा ओसिएकोछ । यो राजमार्गको बाटो सुगम छ पैतला दुर्गम । नदी सुगम बगेको छ छाल दुर्गम । शीत सुगम खसेको छ रात दुर्गम उभिएको छ । यो होटल सुगम छ यसका टेवल टेवलमा आई पुग्ने सेवाहरु पनि सुगम छन् तर ती सेवाहरु टेवल टेवल सम्म बोकेर ल्याउने मनका सपनाहरु दुर्गम छन् सुदुर छन् ।
यहि होटलमा काम गर्ने सानु कद हँसिलो अनुहारको त्यो वेटर भाइको सपना होटल म्यानेजमेन्टको ट्रेनिङ्ग लिन हो । जसले मलाई होटल म्यानेजमेन्टको ट्रेनिङ्ग लिन लाग्ने खर्च सोधेको थियो । मेरो विषय परेन मलाई थाहा भएन तर अर्काे पल्ट यो ठाउँमा पुग्दा यस विषयमा बु´ेर बताई दिनु छ । उ सँग सपना छ सपना देख्ने मान्छे मलाई मन पर्छ । दुईचार पल्ट भयो यो होटलमा बसेको उ सँग म परिचित र आत्मीय भएको छु । उसको सपनाको अगाडि यो पुसको जाडो आफै कामे जस्तो लाग्छ । मध्यराति सम्म निद्रा डराएर भागे जस्तो लाग्छ । उसको सपनाको अगाडि चिसो सिरेटो पनि खोला पारिपारिबाटै उकालो लागे जस्तो लाग्छ । उसको ओठले खुसीको प्रतिनिधित्व गर्छ । उसको मेहनेतले सपनाको रागमार्ग सुगम बनाउँछ । उ श्रम पुज्छ ईश्वर पुज्दैन ।
गाँउकै नि।मा।बि।सम्मको पढाई सकेर पोहोर साल यता राजमार्ग झर्नु अगाडिसम्म आफ्नु आँखा भन्दा पारीको क्षितिज नदेखेको उ ।
तर अहिले कहाँबाट कहाँ आयो
उ जन्मेको त्यो ठाउँमा सरकार पुग्ने गोरेटोबाटो छैन । लाग्छ त्यो लेकमा भुगोलमात्र छ देश छैन । ऐना छ अनुहार छैन । पैतला छ बाटो छैन । पंखेटा छ आकाश छैन । उस्ाको त्यस ठाँउमा धेरै कुरा छन् तर उस्ाले बुझ्ने कुनै भाषा छैन ।
सुत्ने बेला आफ्नी आमालाई बारम्बार सम्झन्छ । सरकारले नदेखेको आमाको बिधुवा सिँउदो गा.वि.स.मा बिधुवा भत्ता बाँडिन्छ भनेर नसुनेको आमाको बहिरो कान । यता राजमार्ग तिर झरे पछि अलि अलि जानेको छ । प्रायः आमालाई सपनामा देख्छ । दशँै पछि आमालाई सपनामा बाहेक भेटेको छैन । भर्खर मोबाईल फोन किनेको छ तर उता आमा यो प्रबिधिसँग अपरिचित छे । हरेक दिन निदाउनु अघि आमाको सम्झना यो पहाडको डिलै डिल भएर उ सुत्ने कोठा सम्म आई पुग्दो हो । म पनि बेसमारी आमाको सम्झना कल्पना गर्न सक्छु । केहिबेर अघि चिसोले फुटेको आफ्ना हत्केला देखाउँदै उस्ाले भनेको थियो ू लेकतिर मेरी आमाको हात खुट्टा पनि बेसमारी फुटेका होलान् । पोहॊर पोहोर तिर त आमाको हातबाट रगत पनि बगेको हुन्थे यस पाला पनि उस्तै त होला नि जाडो । यता त यस्तो छ ।ू उ आमाको सम्झनामा पुरै बिलीन भएर एककोहोरो बरबराई रहेको थियो । त्यति नै खेर रेष्टुरेन्टको टेलिभिजनमा नरम त्वचाको बिज्ञापन बज्यो । तर उस्ाकी आमाले यो बिज्ञानपनको भाषा बुझ्िदन । मेरो मष्तिष्कमा उस्ाकी आमाको काल्पनिक स्केच बन्यो ।
त्यो सानो केटो जो होटलमा काम गर्दै होटल म्यनेजमेन्टको ट्रेनिङ्ग लिने सपना देख्छ । यता झरे पछि धेरैकुरा जानेको हुनु पर्छ उसले । सपना देख्न र मेहनेत गर्न सिकेको हुनु पर्छ नत्र त उसको त्यो भुगोलमा कुन बतासले सपना उडाएर उस्ाको बलँेसिमा खसाल्ला र आँखाले टिप्ला पैतलाले बाटो छाम्दै यी राजमार्ग किनारामा आई पुग्ला र उ बिनायोजना अकस्मात यो राजमार्गमा खसेको हुनुपर्छ र धेरै कुरा जानेको हुनु पर्छ ।
आज होटलमा अलि फुस्रद रहेछ । चिसोले गर्दा गेष्टहरु कम । सबै भन्दा कान्छो भएकोले अरुको अगाडि मायालु पनि । उ बारम्बार मेरो टेवलमा आईपुग्छ । म लगातार तातो पानी पिईरहेको छु । उ निसफिक्री मसँग गफिन चाहान्छ । म अलि चासो दिन्छु उसको सपनाहरु सुन्न चाहान्छु । उ अव होटल म्यनेजमेन्टको ट्रनिङ्ग लिएर बिदेश जान चाहान्छ । बिदेश जाने सपना यहि होटलको सिनियर दाईबाट देख्न थालेको रहेछ । म कल्पना गर्छु अब उसको मेहनतले उसकी आमाले नयाँ मजेत्रोमा आफूलाई बेर्ने छे । पहिलो पल्ट ऐना हेरेर लजाउने छे । समयले उसलाई राजमार्गै राजमार्ग उकालो लाग्न दियो भने मूनाहरुमाथी बसन्तले खसालेको बीर्य जस्तै परिवर्तन हुने छ उ ।
उ फेरि मेरो अगाडि उभिएको छ । ल्याटिन अमेरिकी चिलीको आन्दोलनको बारेमा समाचार प्रसारण भईरहेकोछ । मिठो भाषण गरिरहेकी क्यामिला भ्यालेजो को अगाडि लाखौँहातहरु हल्लिन्छन् । उसले त्यो समाचारको भाषै नबुझे पनि टोलाएर क्यामिला भ्यालेजा को सुन्दर अनुहार हेरिरहन्छ । साहयद यसबेला उस्ाले लेकतिर आफ्नी डोल्मा सम्झेको हुनु पर्छ । मैले चाँहि आफनै देशको त्यो बिसाल आन्दोलन सम्झेँ । त्यतिखेर हम्रो आन्दोलन पनि ल्याटिन अमेरिकी चिलीकै आन्दोलन जस्तै थियो । तर आज त्यहि आन्दोलनको जगबाट टाउको उठाएको सरकार उस्ाकी आमाको थोत्रो मजेत्रो र चिसोरातको अगाडि अन्धो भएको छ । उसको घर पुग्ने गोरेटो बाटोको अगडि लंङ्गडो भएको छ र उसकै निजी सपनाको अगाडि यो सरकार बौलाएको छ ।
फेरी म छेउमा आएर कानमै भन्यो दाई मैले पचास हजार जम्मा गरिसकें अव कति महिना काम गर्नु पर्छ होटलम्यनेजमेन्टको टनिङ्ग लिन अर्काे पल्ट आउँदा यस बारेमा बुझेर आईदिनु होला ।
राजमार्गमा अनेक कुराहरु हुन्छन् । खाली पैतला हुनेहरुले जुत्ताको सपना देख्छन् । मैलो कपडा हुनेहरुले सुकिलो कपडाकाको जाडो हुनेहरुले न्यानो कपडाको खलासी हुनेहरुले ड्राईभरको मजदुरले मालिकको मालिकले सासकको । राजमार्ग भनेको आफँैमा गन्तब्य हो । यहाँ गन्तब्यको मात्र सपना देखिन्छ । उसले पनि गन्तब्यको सपना देखिरहेको छ ।