|  | 
आमाको देशबाट
शीतका पाइलाहरु कुल्चँदै कुल्चँदै 
सपनाको राजमार्ग छिचोल्दै छिचोल्दै 
आइपुगें छु एक विरानो भूगोलमा 
जहाँ तर्सन्छु आफ्नै छाया नमिलेको देखेर 
जहाँ एक कुनामा उभिन्छ साहूका राता आँखा
अर्को कुनामा देखिन्छ
भुइँतिर खसेका पंखेटा र आकाश छुन उडेका सपनाहरुको जुलुस 
र मध्य बिन्दुमा उभिन्छ
आमा पत्रमा पठाउनु हुन्छ आफ्नै आयु घटाएर मेरो दीर्घायु
पहरामा ठोकिंदै खसेको घाम
र एक लय भीरफूलको गीत 
चैतको पश्चिमा हूरी 
र बगैंचामा खसेको हजारीको धारा 
आफ्ना चोखा इन्द्रिय
र मेरै लाटो चेतना 
आमा आधा मिलेको आधा नमिलेको 
मेरै जीवन-लय पठाउनुहुन्छ ।
दशैंमा जमारा टीका
तिहारमा देउँसी भैलो 
उद्यौली उभौली, साकेला, मारुनी 
र यो मरुभूमिमा एउटा चौकोसा आघन पठाइदिनुहुन्छ ।
आमा यो प्रदेशमा
म विना न्यास्रो मानिरहेको चाडपर्व पठाइदिनुहुन्छ ।
आमा पठाउनु हुन्छ 
गाउँमा लोग्ने बिदेशिएको नवदुलहीको मलिन साँझ
धारामा बज्ने चुराको संगीत 
र तिर्खा हिंड्ने बाटो 
गाउँको एक्लो चौतारो 
र लाहुरे घर फर्कि नआएको उदास आँगन 
आमा मैले उफ्री हिंडेको सिंगो गाउँ पठाइदिनुहुन्छ । 
बार्दलीबाट हातले हिमाल टिप्नु हुन्छ 
र पोल्टोमा सेकाई राख्नुहुन्छ 
आँखाले तराई टिप्नु हुन्छ 
र छातीमा टाँसी राख्नुहुन्छ 
शिरले पाहाड थेग्नु हुन्छ 
र निदारमा उभ्याई राख्नुहुन्छ  
आमा यी सब जम्मा गर्नुहुन्छ
र मलाई प्रदेशमा देश पठाइदिनुहुन्छ ।
पत्रमै पठाइदिनुहुन्छ 
रित्तो भदौमा बाँदर फर्केर नआएको तिथि मिति
बाँझो बारीमा भोको सुगाको मलिन आवाज 
रित्तो गोठ
खाली किलो 
प्रदेशमा आमा मेरो खेती किसानी पठाइदिनुहुन्छ ।
अनि अन्तिममा बडो प्रेमले लेख्नुहुन्छ 
“छोरा यस पाली पनि दलिनमा लगायो गौंथलीले गुँड
माटो गैह्रीखेतकै रहेछ 
जुन माटो अगाडि उभिएर
तैँले पठाएको पैसाले चाउचाउ किनी खाएर 
मंसिरमा त्यही खेतमा तैँले धान झारेको सपना देख्छु ।”
 
 
 
 
 
2 comments:
Outstanding,
True Marvel of Insight !
:)
thank you
Post a Comment