Social Icons

3.29.2012

खुसिका बिम्बहरु

रमेश सायन
From Himalay Times (2068.12.11)

म घरको कौसिमा उभिएको छु र, आँखा आकासमा टाँगिदिएको छु । आकास प्रायः निलो छ कतै कतै टाटाटुटी बादल मैले जे कल्पना ग¥यो त्यही आकार भएर आकासै आकास दौडन्छ । सुन्दर फूलहरुको वगैँचा, सेतो हिउँको पहाड,खेतका कान्ला,पाखो बारी,साहुको अनुहार, बादलले आकासको पिठ्युमा बोकेर दौडिरहेको छ । रमाउन किन धेरै बाहाना चाहियो र ? म यिनै बादलका हजार अनुहारमा हराई रहेको छु । आज औधी रमाईलो लागेको छ । यसपाला पनि नबिराई ऋतुमा वसन्त आईपुग्यो, रुखका आँगामा पालुवा पलायो । आरुका बोटहरु उन्माद बंैसमा फुले । पोहोर पनि फुलेका थिए । हुन त यी बोटहरु मैले थाहा पाउँदा देखि नै फुलिरहेका छन् । यी रुखहरु हतपत बुढा हँुदैनन् वा बुढा भएर पनि फुलिरहनु यिनीहरुको भाग्य हो । बिहान हरिलाल ठाकुरको सैलुङमा,सेताम्मे कपालमा, कालो पोलिस लगाईरहेको, त्यो छिमेकी सरकारी हाकिम यी आरुको बोटका बंैससँग कति ईष्र्या गर्दो हो म मनमनै कल्पना गर्न सक्छु ।
बतासले एउटा मिठो वास्ना मेरो नाकै सम्म ल्याएर हुल्यो । मेरो ध्यान बादलबाट वास्ना तिर स¥यो । मेरो आनन्दमा एक ईन्च पनि कमि भएको छैन । आरुका फूलहरु वतासले भूँईतिर खसाल्यो, अलि पर पर उडायो,कुनै कुनै फूल मेरै टाउको सम्म आएर अडियो ।
ठिक यो बेला, म नेपाल घुम्न आएको ईटालियन पर्यटक लुकालाई सम्झन्छु । उसले सबैभन्दा धेरै हाँस्न जानेको हुनु पर्छ, हरेक बहानामा रमाउन जानेको हुनुपर्छ, दोलखाको जिरी हुँदै लुक्ला तिर दौडिरहेको त्यो २१ वर्षे ठिटो,हेर्दा लाग्छ, यो मान्छे हाँसेरै जिन्दगी बिताई दिन्छ । आरुका फूल, गुराँसका बोट,पाखो बारी,सल्लाका वन,डोको, ढाकर,भरिया,उकालो ओरालो जे देखे पनि बेस्मारी रमाएर हाँस्छ । चरिकोटमा सस्तो होटल खोज्दै आई पुगेको उ, म बसेकै होटलमा आई पुगेछ । त्यसपछि केही घण्टा लुकासँग गफिएको छु । बिहानै मलाई उठाएर बजार भन्दा अलि परको पाखो बारीमा लिएर गयो । आरुका फूलहरु देखायो र बेस्मारी हाँस्यो,म आरुका फूलहरु देखेर त हाँसिन तर उसको हाँसोमा थोरै लय मिलाउन हाँसें । केही बेर पछि फर्कंदा उसले भन्यो “तँ हाँस्न त राम्ररी जान्दैनस् जिन्दगीमा कहाँ नेर भेटाउँछस् रमाईलो एक पाईला समय ।” उ फेरि सिङ्गो पहाड उठेर उहीसँग दौडिहाल्ला झैँ गरी बेस्मारी हाँस्यो ।
खुसिका बिम्बहरु अनेक हुन्छन्, लुकासँगै अर्काे एक खुसिको पात्र सम्झन्छु काभ्रे र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदीको किनारा,उमेरमा पैंतीस कटेको हुनुपर्छ, नाम बिर्सें अहिले,तर अनुहारको स्ट्रक्चर आँखाको भित्तामा जीवित छ । पाखो बारीले उनको परिवारको पेट आधा वर्ष पनि जिम्मा लिन सक्दैन,लोग्ने अपाङ्ग छ । दुई ओटी छोरीले मनखुसि विहे गरे । अझै तीन ओटी छन् जसलाई समयले वँैस सम्म धकेलेको छैन नत्र उनीहरु पनि अगुवा दिदीहरुले जस्तै दौडिसक्थे होलान् । तर पनि उनी खुसिको एक प्रतिनिधि पात्र हुन् । पिठ्यूँमा साहूको ठुलो भारी छ, निदारमा पसिना , पैतलामा थकानको गति तर ओठमा ठुलो हाँसो,अनुहारमा कतै देखिदैन दुःखको मसिनो धक्रो सम्म । कुनै गुनासो छैन जिन्दगीसँग । कतै छैन दुःखको भर्याङ । लाग्छ यो इन्द्रवती पारिको क्षितिज भन्दा माथि उनको कतै सपना छैन । पाँच ओटी छोरी जन्माउदा,कुनै दिन लोग्नेले पकाएर खान दिन सकेन । दुबै हात नचल्ने लोग्ने छ । उनि भन्छिन “सुत्केरी हुँदा आफैले उठेर ढिडो मस्काएर खाँए । अहिले लोग्नेको भत्ता आउँछ । अरुका लोग्नेले स्वस्नी कुटेको देखेको छु तर मेरो लोग्ने त ठुलो वचनले पनि बोल्दैन, मया गर्छ, बनि बुतोले लोग्ने र छोरा छोरी पालेको छु अरुका लोग्ने कमाउन निस्कनछन् । म आफै कमाउन निस्कन्छु । अरुले स्वस्नी पाल्छन म लोग्ने पाल्छु । अरु केहि नपाए पनि मैले माय गर्ने लोग्ने पाएको छु । मलाई दुःख कहिल्यै लाग्दैन ।” उनी फेरि बेस्मारी हाँसेर उकालो लागिन ।
म यो कौसिबाट यी दुई पात्रलाई लागातार सम्झिरहेको छु ।
फरक भूगोल, फरक संस्कारका, यी दुई पात्र खुसिका प्रतिनिधि हुन । लाग्छ वुद्धले यी दुई पात्र उनकै पालामा भेटेका भए, “मान्छे किन दुखि हुन्छ ?” भनेर कारण खोज्ने थिएनन् होला ।
कहिले काँहि शहर भन्दा बाहिर दौडदा,खुसिमात्रै बाँच्ने पात्र भेटिन्छन् । उनिहरुको दुःख भुङ्ग्रो मै लुग्छ र जिन्दगी सेकाउने राप मात्र बाहिर निस्कन्छ । सहरमा चाहि जिन्दगी सेकाउने राप भित्र र चिसो खरानी बाहिर ।
सम्झन्छु सहर भनेको सपनै सपनाको आकास हो । खाली खुट्टा हिड्दा हिड्दै,सपिङमहलमा सोकेस भित्र सझाईएको जुत्ताको कल्पना हो । यहाँ खुसिको बिम्ब भेटिन्न, रहरको भूगोल हुन्न । यहाँ आफ्नो बाटो हुन्न, जस्तो बाटो छ उस्तो आफु हुनुपर्छ ।
मैले पछिलो पल्ट केहि नयाँ सहरिया साथीहरुको सँगत गर्न पाएको छु । कोही यतै हुर्केका हुन् । कोही हुर्के र यता आएका हुन् जसलाई यो सहरले निरास बनाएको छ र जिन्दगी सामान्य बाँचेर मात्र सक्न तिर लागेकाछन् । प्रायः बेरोजगार छन् । समय कसरी विताउने भन्ने कुरामा मात्र चिन्ता गरि रहेकाछन् । ती साथीहरु चोकमा अबेर सम्म बसेर आफुले सकेको सैलीमा गफ गर्छन् । जागिर खोज्दा खोज्दै थाकेका अनुहारमा थेतरो पना मात्र छ । कोही त लागु औषद्यको प्रयोगमा मज्जैले फसेकाछन् । सबै पढेलेखेकाहुन । उनिहरुको सपनाको सिमाना छैन । एक बिसाल आकास नापि हिड्ने चराहरु जस्तै आफुले सकेको भूगोल नापि हिड्ने पैतला मात्र छ उनिहरुसँग । रहरको अदिम ज्वाला छ । मैदान जस्तै फाटिलो जोस छ, जाँगर छ, तर पनि निरास छन्, हतास छन् । एैना अगाडि उभिन्छन् र आफ्नो उमेरको हिसाब गर्छन सकिन अव केहि वर्ष मात्र बाँकि छ ।
म कौसिमै छु । एक जोडी चराहरु मेरो टाउको माथि बाट आँखाले देखुन झेल सम्म उडि रहे । लाग्छ यी चराहरु मान्छेलाई प्रेम सिकाउन उडिरहेकाछन् । घाम रातो रगंमा बदलिन खोज्दै छ । चिसो त्यति छैन । यो वसन्तको घाम मेरो जिउ छामेर ओरोलो खस्ने अन्तिम तयारीमा छ ।
म कौसिबाट ओर्लन्छु र फेरि लुकालाई सम्झन्छु । केहि दिन अगाडी देखि लुकासँग अनलाईनमा खुसिका कुरा र रमाउने अनेक तरिकाको विषयमा गफ भैरहेको छ । आज पनि अफलाईन मेसेजमा लुकाले लेखेको रहेछ । “ भ्रम पनि मिठो हुन्छ, एउटा सुन्दर कल्पना जस्तो,देख्दा देख्दैको सपना जस्तो । रमाउने तरिका फरक हुन्छ,खुसिहुने बाहाना अनेक हुन्छन् । रमाउन जान्नु पर्ला,हेरि रहे बादलमा पनि आफ्नो अनुहार भेटिएला,दोडदा दौडदैको मोटरको धुवा,घर छेउको पिपलको रुख,हरियो चौर,आफनै घरको धुरी वा गरि गरि आफ्नै देसको नक्सा आदी आदी बादलमै पनि भेटिएला । यो बादलसँगको भ्रममा पनि आन्नद छ । सुदुर जीवनको कल्पना,लोभ लाग्दा सपनामा पनि सोन्दर्यता छ । सायन तेरो देसमा रमाउने हजार बाहानाछन् रमाएर हेर ।” अगि म कौसिमा बादलसँग त्यतै हराई रहेको थिए । अहिले ठ्यक्कै लुकाले त्यहि भावको मेसेज पठाएछ । मैले लुकाबाट हिजो अस्ति नै यो कुरा सिकेको हुँ या मैले आफैले जानेको हुँ ? जे होस रिप्लाईमा लेख्छु “लुका तँ मेरो देसको सोन्दर्य देखेर सम्झि सम्झि हाँस,म तलाई सम्झेर, हा.......हा........।

3.02.2012

ल्हासो कालिञ्चोक

ल्हासो कालिञ्चोक

रमेश सायन
rashayan@hotmail.com


सहरको उज्यालोभन्दा अलि पर । चिसो तर फोहोरी बतासभन्दा अलि टाढा । संगीत बिथोल्ने हल्लाभन्दा उ पल्लो भूगोल, इन्द्रेणी आकाशलाई छेकेर समयको युद्ध गर्ने बिहानभन्दा माथिल्लो मिरमिरे र पहिलो पल्ट आफैँलाई चिमोटेर ब्युँझाउनुपर्ने प्राकृतिक सोन्दर्यको समाधिमा छु, यतिखेर ।
यहाँ मैले आफैँलाई राम्ररी सम्झेको छुइनँ । अरुलाई सम्झने कुरा त झन् शून्यभन्दा पनि तल खसेको छ ।
म यो उमेरसम्म आइपुग्दा मेरो पैतलाले धेरै भूगोल छामेको छ । टाउकोमा हिमाल, पहाड, तराईको घाम ठोक्किएको छ । अनुहारमा समयले पोतेको घाम पानीकोे रंगीन रेखाको सुदूर सुरुङ छ । तर पहिलो पल्ट यसरी हिउँ राम्ररी छुन पाएको हुँ, हत्केलाले राम्ररी खेलाउन पाएको हुँ । जुत्ता खोलेर राम्ररी खाली खुट्टा दुई मिनेटसम्म उफ्रन पाएको हुँ ।
धन्यवाद मिंगुर शेर्पा ।
काठमाडौँको हल्लाखल्ला, धुलो र फोहोरको बीचतिरै मलाई कालिन्चोकको यात्राको निम्तो दिएका थिए मिगुंरले । उनी पेसामा होटल र यातायत व्यवसायी हुन् । टुरिजम क्षेत्रमा पनि राम्रै रुचि राख्छन् । मिंगुरले, मलाई शेर्पा लवजमा कालिञ्चोकको सोन्दर्यता सुनाइरहँदा मन हत्तारिरहेको थियो । त्यसको ठिक चार दिनपछि म चरिकोट पुगिसकेको थिए ।
मिंगुरले हामीलाई साना जिपबाट यत्रा गर्ने सल्लाह दिइरहेका थिए । तर सुनिल कार्की र मैले मोटोरसाइकलको यात्रा रोज्यौँ । चरिकोटबाट उकालो चढ्दै जाँदा आँखै अगाडिको गौरीशंकरको उचाइ पनि घाँटीभन्दा माथि उक्लन नसकेको जस्तो लाग्थ्यो । कुइरो लिगलिग कोटको दौडमा द्रव्य शाहको अगाडि घलेहरू जस्तो मात्र देखिन्थे । कुइरोको उचाइभन्दा माथिको यत्रामा हामी छौँ । जसोतसो मोटर दौडाउन सक्ने मात्र बाटो छ । लम्बाइ छ चौडाइ छैन । कतै–कतै श्रमिकहरू बाटो बनाइरहेका भेटिन्छन् आँखाले छाम्न सकुन् झेलको उचाइ छ । फेदीको कल्पना मात्र गर्न सकिन्छ । हतारमा पात खसिरहेको डरलाग्दो जंगलको बीचैबीच उकालै उकालोको यत्रा । उचाइ उचाइ नै हो रहेछ जतिमाथि गयो उति रमाइलो । उति आन्नद । त्यसै मान्छेहरू सगरमाथाको दौडमा ओइरो लागेका होइन रहेछन् ।
बिहानको नौ बजेको छ । तल चरिकोेबाट उकालो लागेको दुई घण्टा बितिसकेको छ । कुरीबजारमा भाँडामा जमेको पानी एक सुन्दरी युवतीले सानो घनले फुटाइरहेकी थिइन् । एक्कासी हिउँहरूको सेताम्मे बस्तीमा पुग्दा म चिच्यएँछु, कराएँछु, आँखाबाट आँसु झरेछ । म हिउँमाथि छु आँखाले हिउँ छामिरहेछ । हत्केलाले हिउँ समातिरहेछ । पैतलाले हिउँ नै टेकिरहेछ । सानो तर सुन्दर कुरीबजार शान्त छ औधी शान्त । साहेद सबै सुन्दर कुरा शान्त हुन्छन् । मलिन हुन्छन् । नरम हुन्छन् । त्यही भएर फूल शान्त भएको होला, शिशुको अनुहार मलिन भएको होला । संगीत मनलाई समेत पगाल्न सक्नेगरी नरम भएको होला ।
हिउँमा उफ्रिदा म राम्रैसँग लडेको छु । घुँडामा चोट लागेको छ तर दुखाइको गति मन्द छ । दुखाइतिर ध्यान गएको छैन । यही चोट काठमाडौँको हल्लाखल्लामा लागेको भए यो दुखाइको गति राम्रै हुने थियो होला । म हतारमा डक्टरकोमा पुग्थे । हतारमा पेनकिलर खाने थिएँ । एक्सरे गर्थँे र हतार मै चिन्तामा डुब्थे होला तर यहाँ त्यस्तो केहीको आवश्यकता महसुस भएको छैन । कुनै हिउँले भरिएको भित्तो, कुनै रुखको बुटो, कुनै चुच्चो ढुंगो, संगीतको शैलीमा उभिएका पहाडका थुम्का सबै क्यमेरामा कैद गरिरहेँ । बासी र चिसो खाना नपाइने कुरीका यी सुन्दर होटलहरूमा खाना अर्डर गरेको दुई घण्टापछि मात्र पाइँदो रहेछ । वा नाकै ठोकिने उकालो बाटोको अन्तिम टाकुरामा कालिन्चोक भगवतीको दर्शन गरेर आएपछि मात्र ।
कुरी बजारमा होटलहरू मात्र छन् । खानेपानीका पाइपहरू हिउँले पुरेको छ । मुहान जमेको छ, धाराको टुटीबाट पानी खस्दैन । हिउँ उमालेर खाइन्छ हामीले पनि हिउँ पगालेर पानी खायौँ । कालिन्चोक भगवतीको मन्दिर पुग्ने रहर छ तर आँखाले उकालो नाप्दा मनसँग पैतलाले ठूलै युद्ध गर्नुपर्छ जाउँ कि नजाउँको अन्तमा मनले युद्ध जित्छ र पैतला लुखुर लुखुर उकालो लाग्छ । राम्रै हिँड्नेलाई पनि दुई घण्टा लाग्दोरहेछ । हामी तराईमा हुर्केकाहरूलाई समयको सीमा तोकेर भन्न नसकिने रहेछ । तर हामीलाई थकाइको कतै महसुस भएन । कतैकतै भीरसँग रम्रै डरसम्म लागेको हो । हात खुट्टा दुवै टेकेर उकालो चढिरह्यौँ । फेदीतिर स्थानीयले लौरो टेकेर जानु भनेर सुल्जाइरहेका थिए । तर हामीले लौरो टेकेर हिम्मत घटाएनौँ । एक÷दुई हुल यत्रु माथि मन्दिर पुगेर ओराले झरिरहेका थिए । उनीहरूको अनुहार युद्ध जितेर फर्केको बहादुरको अनुहार जत्तिकै उज्यालो थियो । कतिलाई चाहिँ उकालो चढ्दा चढ्दै बाटोमै जित्यौँ र अगाडि बढ्यौँ । केही मोटा मान्छेहरू हाम्रो पातलो शरीर देखेर इष्र्या गरिरहेका थिए । सुनिल त्यो भीरमा पनि बाघ सम्झन्थे र भन्थे यहाँ अहिले बाघ आए हामी के गर्नु ? म बेसमारी हाँस्छु मेरो हाँसो पहाडमा ठोकिएर फेरि एक मिठो लयमा मैतिर फर्कन्छ । बिचरा बाघ यो उकालोमा कसरी चढ्न सक्छ र यहाँसम्म आइपुग्छ ? लु आइनै हाले पनि यहीँ भिरबाट लडेर मर्छ । हाम्रो गफ सुनेर यत्रुहरू मझैले हाँस्छन् र केही सेकेन्ड भए पनि उकालेको पीडा राम्ररी बिर्सन्छन् । ३,८४३ मिटर अग्लो यो टाकुरामा पैतला एक बिन्दास पारमा बिसाउँछौँ । फनफनी घुम्छौँ । सानो चौडामा फैलिएको यो टाकुरामा कालिन्चोक भगवतीको छानो बेगरको मन्दिर छ । त्रिशुलै त्रिशुलको भीड छ । हिन्दु र बुद्ध धर्म मान्नेहरू एकै ठाउँमा जम्मा हुन्छन् । आ–आफ्नै विश्वास बिसाउँछन् । आ–आफ्नै शैलीमा भगवती रिजाउँछन् । चारैतिर मन्त्र लेखिएका ध्वजा टाँगिएको छ । केही औधी डरलाग्दो ठाडो सिँडी चढेर यहाँसम्म पुगिन्छ । माथि टाकुरामा गणेश हिमाल, गौरीशंकर, लाङटाङ हिमाल निधारसम्म आएर उभिन्छ । आँखैभरि हिउँ नै हिउँ जम्छ तलको कुरीबजार उठेर हिँडिहाल्ला जस्तो लाग्छ । भिर पहराहरू हामीसँग बोलुँलाझैँ गर्छन् । थकाइ भोक प्यास सबै बिर्सिन्छ । बतासको कलिलो स्पर्श उस्तै मिठो संगीत उस्तै लय मिसाउने ती चुच्चाचुच्ची टाकुरा त्यो अन्तिम मनवीय पैतला टेकिने भूगोल । हो, त्यो भन्दामाथि कुनै मानवीय बस्ती छैन । अघि उकालो चढ्दाचढ्दै लागेको थियो ईश्वरलाई यति अप्ठ्यारो ठाउँमा अएर किन बस्नु परेको होलो । तेस्तै कुरीबजारकै छेउतिर बसेको भए पनि भैहाल्थ्यो नि । अहिले बल्ल थाहा भयो । ईश्वर भनेको सौन्दर्य हो रहेछ । वा ईश्वरलाई पनि हामीलाई जस्तै सोन्दर्य मात्र मन पर्दाेरहेछ ।
यहाँ जताततै कविताको संगीत छ । जताततै महाकवि देवकोटा उभिन्छन् । रिमालका सपना बाँच्छन् । चराहरूले नापेका आकाश भेटिन्छ । नगबेली नदी देखिन्छन् । वर्डस्वर्थ झर्ना बनेर उभिन्छन् ।
यसपछि हामी ओरालो झर्छाँै । अघि नै अडर गरेको खाना खान्छौँ । शेर्पाहरूको आफ्नै लवजको गफ सुन्छौँ । ईश्वरमाथिको तर्क सुन्छौँ । पे्रमिल छ बतासको स्पर्श, चिसो तर एउटा मादक बास्ना हिउँ माथिमाथि दौडन्छ, त्यतिकै मैले यो ठाउँमा आफैँले आफैँलाई चिमोटेर बिउँझाएको होइन रहेछु । स्थानीयहरूको बहस सुनिरहेको छु । बुद्धिष्टहरू बलि चढाउन हुन्न भन्दारहेछन् । उनीहरू यही कुरामा तर्क बलियो बनाउँदा रहेछन् तर हिन्दुहरू बर्षैैभरि बलि भाकेर राख्छन् । जिउँदा पशुपंछिहरू यो ठाडो उकालोमा घिसार्दै पु¥याउँछन् र अन्तिम पल्ट हिमालको सौन्दर्य देखाएर मार्छन् । सम्झन्छु ती बलिमा चढ्ने पशुपंछिले पनि पीडा कम भएको महसुस गर्छन् होला यो विशाल सौन्दर्यको अगाडि ।
चरिकोटबाट केही घण्टाको मोटर यत्रापछि पुगिन सकिने रहेछ यो ठाँउमा । अब हामी फर्कन लागेका छौँ । कुरीबजारका होटलहरूमा बेसमारी आतित्थ्य पायौँ जसले औधी मिलनसार आफन्तको सम्झना दिलायो । फेरि भोलिदेखि भीडभाडमा गज्याङमज्याङ जिन्दगी बाँच्नु छ । आफूलाई अगाडि दौडनु छ ।
फेरि मनले भन्छ ल्हासो कालिञ्चोक ।