Social Icons

6.10.2013

अक्षरका उस्ताद डम्मर सर



- रमेश सायन
rashayan@hotmail.com

त्यो साँझ अक्षरहरुमा टेकेर धुँवा हिड्यो ।
काभ्राको बोट तिर आउँदै गरेको वसन्त । नबिर्सी फुलेको गुलमोरको बोट । मुनाहरुमा सिउरीदै गरेको चराहरुको गीत एकै पल्ट हरायो मेरो गुरुको जीवनको बृतबाट ।

जसको आगनमा बसेर हामीले अक्षर चिन्यौं । जसको दैलोमा उदाउने घाम टिपेर हामीले जीवनको आयतनमा उज्यालो फैलायौँ । जसको सहाराले हामीले हरदम हक्षरको बाटो हिँड्न सिक्यौँ र जीवनको लयमा एउटा अर्को रिदम थप्यौँ । उनै डम्मर सर धुवाँ भएर आकास तिर उड्नु भयो । आफ्नै छयाँबाट सधैको लागि बिलाउनु भयो ।

त्यो साँझ डम्मर सर हामीलाई जीवनकोलय सिकाएर आफु जीवनबाटै हराउनु भयो ।

अठार वर्ष अघि मेरो प्रथामिक र निम्न माध्यामिक कक्षामा डम्मर सर अलराउँडर टिचर हुनुहुन्थ्यो । हजारौँ बिद्यार्थीको आँखामा सधै चक्रवत घुमिरहने माड्साब अब कहिलै नर्फने गरि बिदाहुनु भयो ।  

बाघबजारको एउटा चिय पसलमा कविहरुछन् । त्यहि हूलमा मिसिएको छु म । मेरो आँखामा कविता बगेको छ । कानामा सुन्दर कविताका बिम्बहरु ठोकिदै फर्कदै गर्दैछन् । अक्सर कविताको संगीत मेरो कानमा परावर्तन भईरहन्छ ।

साँझतिर कविहरुको इलम यसतै साना तिना चिया पसलमा गफचुट्नु  र कविता सुन्नु, सुनाउँनु हुन्छ । यो सहरको थकाई मेटाउने ठेक्का यस्तै सस्ता चिया पसल र मसिना भट्टीहरुले लिइरहेका छन् । हामीले एक आर्कासँग भेट्ने अनेक बाहाना छन् । अबेरसम्म गफ चुट्ने अनेक सिलसिला छन् ।
अचेल फोनले केही कुरा छुट्न दिँदैन । केहीकुरा गुमाउँन दिदैन । कहिले दुखहरु कान भित्र घुसारी जान्छ । कहिले खुसीहरु आँखामा छाडि जान्छ ।
पिउँदा पिउँदैको चिया अड्कियो । जिब्रो भित्र स्वाद हरायो । आँखाले रंग छुट्याउन सकेन ।
 मेरो कानमा आएर ठोकियो मेरो गुरुजीको मृत्युको खबर ।
मेरा कवि मित्रहरुले पनि दुख ब्याक्त गरे । सायद कवि मित्रहरुले  पनि सम्झन भ्याए होलान आ–आफ्ना प्रिय गुरुजीहरुको अनुहारको ठेगाना ।
ट्याक्सि चडेँ र गुरुको अन्तिम अनुहार हेर्न पशुपति गएँ ।
गुरु जिन्दगीको अन्तिम अयु बाच्न मृत्युसँग युद्ध गर्दै हुनहुन्थ्यो, कठमाडौँका अस्पतालहरुमा । हजारिया सेवा समाजको नाममा गुरुका शिष्यहरुले उपचार खर्र्च जुटाइरहेका थिए । तर, उपचारकै क्रममा, गुरुले जीवन हार्नु भयो । मृत्युले जित्यो ।
बाटमा सम्झनु थियो गुरुलाई सम्झदै गएँ ।
औषद नेपाली कदका ख्याउटे गुरुको अनुहार ट्याक्सीको सिसा छिचोलेर आँखामा आयो । पढाउनु बाहेक गुरुको अर्काे निजी सोख थियो नाच्नु, गाउनु र अभिनय गर्नु । बेलाबखत मात्रै सरकार पुग्ने ऊ...पल्लो मधेसका माड्साब हाम्रा लागि मिर्जा गालिब थिए, उदित नायरायण, नारायण गोपाला नातिकाजी, थिए । राजेश खन्ना, अमिता बचन, भुवन केसी, राजेश हमाल थिए । यी सबैलाइ हामी  गुरुको अनुहारमा पालैपालो देख्थ्यौँ र आ—आफ्नै मगजको ढलोटमा उतथ्र्यौँ डमर सरको अनुहारको नक्सा ।
प्रथामिक कक्षामा पढाउने राध्देव सर र बजेन्द्र सरको कक्षामा मेरो मुटु बाहिर निस्केर कुदिहाल्ला झै गरि उफ्रन्थ्यो । लगभग हाँस्न बिर्सि सकेको हुन्थँे तर डम्मसरको कक्षामा सकुसल फ्रकन्थ्यो मेरो ओठको मुस्कान । चेहराको खुसी । होमवर्क नगर्दा डम्मसरले दिने सजाय औषत अरुको भन्दा फरक हुथ्यो उहाँ सजायसँगै मया पनि गर्नु हुन्थ्यो । उहाँको कक्षा लगभग गिजु भाइको दिवा सप्ना जस्तै लाग्थ्यो ।
ट्याक्सीवालाले मेरो अनुहारको रंग पढि भ्याएछ क्यार । सोध्यो “निक्कै आत्तिनु भा‘छ के भो सर ?”
–“जिन्दगीमा पहिलो पल्ट जोडघटाउ सिकाउँने गुरुले जिन्दगीबाट अवकास लिनु भो ।” मैले भनेँ ।
 –“चिन्ता नलिनुहोस सर गुरुहरुले पनि मर्न पाउँनु पर्छ मेरा गुरु पनि अस्पतालमा छन् । बा पोहोर साल बिते आमाले त मेरो अनुहार पनि राम्ररी देख्न पाइनन् होला मलाई जन्माए लगतै मरिछिन् ।”
ट्याक्सी वला मृत्यु माथि मृत्युको कथा सुनाई रहेको छ  । म झन झन गुरुलाई आँखामा उतारि रहेको छु । छामिरहेँ छु मगजको चेतनाले ।
उहाँको घरमा ट्युसन पढ्नेको भिड हुन्थ्यो । गर्मि मैना तराईको घाम, आगो ओकल्थ्यो । हामी भूँइमा ओछ्याउँन बोरा बोकेर सरको घर पुग्थ्याँै र खेल्थ्यौँ सुर्रा, कबड्दी, डगरको छेउमा गुच्चा, चुङगी, जसको साँक्षी गुरुको घर पछाडिको पिपलको बोट अझै छ ।
यस पालि हिँउदमा म त्याहि पिपलको फेदमुनी बसेर एक टक हेरी रहेँ गुरुको आगन । जहाँ मेटिने अन्तिम तयारीमा थियो अक्षरको भूगोल, जोड घटाउ र गुना भागाको चिन्न ।
स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा डम्मर सर अनिवार्य । स्टेज उहाँको आसपास घुमिरहन्थ्यो । आफ्ना जमानाका सुपरहिट गीत गुरुका गलामा खुब सुहाउँथ्यो । हामी मच्चि मच्चि तालि बजाउँथ्यो । अहिले केही चेलाहरु उहाँको सपनाको बाटो हिँडिरहेका छन् र सफल पनि छन् जस्तो शिव परियार, शिवशंकर रिजाल, निखिल उप्रेती आदी ।
स्कुल छेउमा सुक्रबार र मंगलबार हजारिया बजार लग्थ्यो । मुरी, कचौरी र जेरी खुब खान्थ्यौँ । डम्मर सर लगायत अरु केही सरहरु छेउछाउको मसिना भट्टिमा नियमित जसो अखडा जमाउँनुहुन्थ्यो । बाँसका टाटिले बेरेको स–साना रक्सी पसलमा म बाहिरै बाट च्याहेर हेर्थँे । मलाई खुब मज्जा लाग्थ्यो गुरुको अनुहारमा चडेको रक्सीको लाईभ नसा हेर्न ।
गुरुको घर हाम्रो घर नजिकै थियो । साँझ गुरु हाम्रै घरको बाटो भएर घर फर्कनु हुन्थ्यो र बेसुर भाकामा नारायण गोपालका गीत गाउँदै हिँड्नु हुन्थ्यो । बाटो आफ्नै हो भनि ठान्नु हुन्थ्यो क्यार, घरि ओल्लो किनारा घरि पल्लो किनारा गरिरहनु हुन्थ्यो । तथापि मैले मेरो गुरुको अनुहार सधै सुन्दर देखिरहेँ । जे गरे पनि उहाँलाई सुहाएकै हुन्थ्यो । बिहान कक्षा कोठामा सधै उज्यालो अनुहार लिएर उभिनु हुन्थ्यो । अघिल्लो साँझ रक्सीले हल्लिएको उहाँकोे अनुहार बिहान शान्त देखिन्थ्यो । मानौँ रातभर जुन र ताराहरुले आफ्नो चमक ल्याएर टासिदिइएका हुन् ।
मेरो एसएलसी दिने बेला हुदै थियो । गाउँमा एसएलसी पास हुनेहरुको अनुमान हुन्थ्यो । औषद बिद्यार्थी भएको नाताले मेरो नाम पनि पासहुने सूचीमा पर्नु स्वभाविक थियो । एक साँझ मातेको आवजमा डम्मर सरले गाउँमा भन्नु भएछ ‘त्यो रमेश पास हुँदैन सधैँ कैटीहरुसँग हिँडिरहेको हुन्छ । राम्रै बिद्यार्थी थियो । अहिले बिग्रेको छ ।’
साथी र साथीका बा आमाले पनि सुने छन् । भोलिपल्ट बिहान स्कुल जाँदा साथीहरुले जिस्क्याउन थाले । लु मलाई त एका एक रिगंटा लाग्न थाल्यो । केटीहरुसँग घुमेको÷डुलेको आरोप माड्साब बाटै लागे पछि वाक्वाक्ती लाग्ला जस्तो भयो ।
त्यस पछिका कक्षामा केटीहरुसँग बोल्न सरहरुको आँखा छल्नु पर्ने भयो । स्कुल जाँदा आउँदा सधै साथीहरुको हूलमा देखिने म त्यस पछि  डगरमा एकलै हिँड्न थालेँ । एसएलसी पास जसरी पनि गर्नु पर्छ भन्ने लाग्यो । एक किसिमले सरको आरोप मेरो मगजमा  पहाड झै उभिएको थियो ।
माड्साबले प्रेमले भन्नु भयो होला । स्नेहले मेरो नाम सम्झनु भयो होला । सलाम मेरो श्रद्धिय माड्साब ।
गुरुलाई सम्झदै गौसला चौकमा पुगेँ । मित्र बिनोद दाहाल पनि मेरै अनुहारको भाव बोकेर चौकमा आइ पुगे । हामी दुबैको अनुहारमा उस्तै पिडा थियो । आँखामा गुरुको अनुहारको चक्र थियो । हामी मौन थियाँै । मानौँ हाम्रा शब्द हराएर हामी निशब्द भएका छौँ ।
पशुपतिमा गुरुले अन्तिम पल्ट हात हल्लाए झै लाग्यो । अन्तिम पल्ट अक्षर चिनाए झै लाग्यो । अन्तिम पल्ट गृहकार्य सोधे झै लाग्यो र, अन्तिम पल्ट गुरुको गलामा सुहाउने हिन्दि फिल्मि गीत गाएँ झै लाग्यो । उहाँका थुप्रै चेलाहरु माझ भनिरहे झै लाग्यो ‘नानी बाबुहरु हो यो अक्षरको राजमार्ग हो । यो बाटै बाटो जानु जीवनको गन्तब्य पुगिन्छ ।’
बिस्तारै गुरु जी धुवाँको आकारमा फैलनु भयो र बतासको शुन्यतामा हराउँनु भयो ।
लाग्छ माझि र स्कुलका माड्साबहरु उस्तैहुन् । दुबैले जीवनको अप्ठ्यारो तार्छन र गन्तब्य तिर पठाउँछन् । जसरी नदी तारे पछि विर्सन्छन् यात्रिले माझिको अनुहार । अचेल ठिक उसै गरि विर्सदै छौँ हामीले गुरुको अनुहार ।
गुरु शुन्य तिर बिलाउँदै गर्दा  सम्झे कवि सिमा आभासको माझि सिर्शकको कबिताको एउटा स्टेन्जा । 
‘यात्रीहरुले छोडेको क्षितिजको इन्द्रेणी टोपीको देब्रे किनारमा सिउरीएर
निधारका रेखाहरु जस्तै बाटाहरु छिचोली आएको ऊ
पहाड भएर उभिन खोज्दाखोज्दै नागवेली नदी भएर बग्छ ।’
गुरुले देखाएको अक्षरको राजमार्ग हिँडेर कहाँ कहाँ पुगे विद्यार्थीहरु, कुन भूगोलमा पुगेर जीवन चलाईरहेका छन् । कतिले सम्झदै होलान । कतिले विर्सदै होलान र कति विर्सने र सम्झने तयारीमा होलान ।

No comments: