Social Icons

9.04.2012

नीला फूलहरूको सहर




रमेश सायन


rashayan@hotmail.com
आज थाहा भयो यो सहरमा पनि औधी सुन्दर कुरा रहेछन् । मेरो टाउकामाथि फुलेका ठीक नीला शिरीषका फूलले यो सहरको हरेक गल्ली, चोक र जिन्दगीजस्तै लामा र पट्यार लाग्दा यी सडकहरू प्रायः कामुक बनाएका छन् । मान्छेहरू बेपत्तासँग हतारमा दगुरिरहेका छन् । धरहराजस्तै अग्लो तर जग धरमराएको हजार सपना बोकेर हिँडेका यी मान्छेमध्ये धेरै प्रतिशत दूर गाउँबाट उदाउँदै गरेको एक मुठ्ठी घाम बोकेर यहाँसम्म आएको हुनुपर्छ । (जस्तो म पनि यिनै मान्छेको लाइनमा गनिन्छु) तर यो सहरमा आउँदाआउँदै वा आएपछि पनि कति ठाउँमा औंलाका मसिना कापबाट घाम चुहिएर धुलोमा खस्यो होला, यसको अंकगणितमा हिसाब छैन । त्यही पनि यो विशाल कंक्रिटका जंगललाई समेत कोमल बनाएर फुल्ने यी नीलाम्मे शिरीषका बोटले मनलाई उत्साहित बनाएको छ, पैतलामा जाँगर र पाखुरामा जोस भरेको छ । आँखामा, दुःख बिसाउने सौन्दर्य भरेको छ । लाग्छ फूलले यो सहरमा अन्तिम धर्म निभाइरहेको छ ।
मसँग यी नीला फूल र प्रेमको अनुभव पनि छ । त्यसकारण पनि म फूलहरूसँग आज नजिक छु । कहिलेकाहीँ लाग्छ यी फूलहरूसँग मेरो मात्र हृदय जोडिएको छ । कुनै बेला हामी घन्टौं बसेर प्रेमका गफ गथ्र्यौं । फूलहरू जस्तै नीलो सहरको कल्पना गथ्र्यांै । उसबेला लाग्थ्यो फूल हाम्रै लागि मात्र फुलेको हो ।
म दरबारमार्गमा छु । यहाँ पनि फूल आफ्नै गतिमा फुलेको छ । घरिघरि लाग्छ हरेक थुँगामा मेरोमात्र एकलौटी पुराना स्मृति बोकेर उभिएको छ । घाम मध्याह्नको चरम बैँस बोकेर कडा रुपमा मेरो ठीक टाउको माथि खसेको छ । धेरै मान्छे मेरो समानान्तर रेखाबाट कुदिरहेका छन् । उनीहरूको अनुहारमा सिंगो मान्छेको विम्बबाहेक अरु पनि केही छ । जस्तो कि, माग्ने, धनी, गरिब, श्रमिक, मजदुर, मालिक, व्यापारी झन्डावाल गाडीमा सवार कुनै नेता, विद्यार्थी किशोर किशोरीहरू र मजस्तै शैलीका केही बेरोजगार युवा । हुन त यी मान्छेभित्र, यो सहरले मात्र बुझेको गोप्य र अन्तिम विम्ब, पत्ता लगाउन बाँकी बहूमल्य खानीझैँ कतै नदेखिने कुनामा होला । तर, अहिले यी सडकमा पोखिएका सरल विम्बहरू यिनै हुन् ।
मेरै छेउमा उभिएर एकजना विदेशीले क्यामरा निकाल्यो र फूलहरूलाई अगाडि राखेर दरबारसहितको फोटो खिच्यो । एक्लो तर फूर्तिले त्यो ठिटोले मेरो शान्ति भंग गरेकामा माफी माग्दै भन्यो, ‘यो पुरानो रजदरबार हैन ? अहिले राजा कहाँ छन् ?’ मलै शान्त स्वरमा भनेको हुनुपर्छ । (उसको ओठको मुस्कानको भावले त्यस्तै देखाएको थियो । ) ‘यो दरबार पुरानो पनि होइन र नयाँ पनि होइन अनि अहिले राजा आफ्नै घरमा छन् ।’ उसले के कति बुझ्यो मलाई थाहा भएन तर ऊ अघिकैजति हाँसेर भनेको थियो, ‘गणतन्त्र आएपछि राजाले दरबार छाडेका हैनन् ?’ मैले हो भनेँ । उसले फेरि भन्यो, ‘त्यसो भए अहिले देशमा पहिलेको भन्दा परिवर्तन र शान्ति छ हैन ?’ मैले फेरि पनि हो मात्र भनेँ । मलाई यो मान्छेको प्रश्नभन्दा फूलहरू नै सुन्दर लागिरहेका थिए । त्यसपछि उसले क्यामरा अलि ठाडो पारेर दरबारको अन्तिम चुच्चो र नीलो आकाश एउटै फोटो फ्रेम लियो ।
मानौँ धेरै पहिलेदेखिको चिनजानको शैलीमा उसले आफ्नो क्यामराबाट मलाई केही फोटो पनि देखायो । मैले ‘सुन्दर र मेरो देश राम्रो छ’ भनँे । उसले मेरो नाम सोधेन र मैले पनि उसको नाम र देश सोधिनँ त्यसपछि ऊ पछाडि फर्केर घन्टाघरतिर लाग्यो ।
ऊ गएकैतिरबाट एकजना ठेलावाला । ठेलामा फर्निचरका सामान हालेर आफूले सकुन्जेलको गतिमा ठेल्दै पूर्वतिर लाग्यो । मानौँ उसको श्रमको अन्तिम म्याराथन दौड हो । उसको लामो छाया दरबारको पर्खालको माथि–माथिबाट हिँडिरहेको छ । उसका खाली पैतला, तालुमा झर्न बाँकी केही कपाल, औधी मैलो कपडाबाट आउने पसिनाको अमिलो गन्धले त्यो अघिकोे विदेशीले जति यो देशमा आएको परिवर्तनको अनुभव ग¥यो कि गरेन ? यो परिवर्तनपछि उसले आफ्नो जीवन सरलरेखामा बुझ्यो कि एब्स्ट्र्याक शैलीमा ? मेरो आँखाको दूरीले थेगुन्जेल उसैलाई हेरिरहेँ । यी नीला फूलहरू र यो नीलो आकाशले मलाई जस्तै उसलाई पनि औधी रमाइलो लाग्छ कि भरे बल्ने निश्चित नभइसकेको अँगेनाको मात्र चिन्ता हुँदो हो । ऊ मेरो आँखाबाट हराइसक्दा पनि उसको स्केच मेरो मथिंगलमा जमिरह्यो ।
केही कडा बतास आयो र हाँगाहरूबाट नीला फूलहरू भुइँमा खसाल्यो । भुइँ पनि उत्ति नै सुन्दर देखियो ।
धन्न सहरमा पनि वसन्त नबिराई आइपुग्छ । फूलले आफ्नो सौन्दर्यता नलुकाई देखाउँछ । बतासमा बासना नडराई दगुर्छ । बिहान घाम नबिराई झुल्कन्छ । घाँसमा शीतको संगीत उही गतिमा बिउँझन्छ र यो सहरको अस्तित्व आदिमदेखि अहिलेसम्म छ । सडकको किनारमा फुलेका यी फूलले मान्छेपिच्छे भेद छुट्याउने कष्ट गर्दैनन् । घाम उही तापमा हरेकको आँगनमा ओर्लन्छ । घन्टा घरको सुई कुनै बादशाह वा सम्राट्को आदेश मान्दैन । गाउँबाट आइपुगेको सिधा आँखालाई टुँडिखेलको सालिकले तर्र्र्साएझैँ तर्सिंदैन, यी फूलहरूमा दर्गुने संगीतको लय । मेरा आँखाले फेरि एकपल्ट फूलको सौन्दर्य मस्तिष्कमा झुन्ड्याइदियो । एकपल्ट फेरि यिनै नीला फूलहरूजस्तै नीलो सहरको कल्पना ग¥यो, जुन हरेक वर्ष चोकमा उस्तै सौन्दर्य बोकेर गर्वका साथ उभिन्छ ।
कडा धुवाँ फालेर एउटा पुरानो ट्रक मेरो आँखाअगाडिबाट दौडियो । अचेल यी काठमाडौंका सडकले आफ्नो अनुहार फेरिरहेका छन् सवारीसाधनहरूको हतारको गति पनि बढिरहेको छ । कतैकतै सपनाका सडकजस्ता अग्रिम नक्साहरू पनि अखबारका पन्नाहरूमा उभिएका छन्, जसले आँखामा समृृद्धिको विम्ब टाँगेको छ । कुनाकुनामा विशाल अपार्टमेन्टहरू कुनै शक्तिशाली शासकको सुरक्षामा अनुशासित भई उभिएका सिपाहीझैँ सानसँग उभिएका छन्, जसले हवाइजहाजबाट खस्ने छाया भुइँसम्म ओर्लन दिने छैनन् । चोकचोकमा विशाल सपिङ महलहरू, पर्फिमको गन्ध र पसिनाको गन्धको शक्तिशाली सीमानाको पर्खाल भएर उभिएको छ । जसका छतहरूले यो देशको आधाभन्दा ठूलो भूगोललाई लिलिपुट देखिरहेछन् र परिवर्तनको अग्रिम पेश्कीसमेतको अनुभव लिइसकेका छन् ।
तर, कतै यही भूगोलमा धेरै मान्छेलाई राम्ररी खान पाउनु नै परिवर्तनको अनुभव हुनेछ । धेरैलाई वर्षांै पहिले हराएको छोरो, लोग्ने, आमा बाबु, दाजु, दिदी, वा आत्मीय आफन्त भेट्नु नै ठूलो परिवर्तनको अनुभूत हुनेछ । कसैलाई हिउँदमा न्यानो लुगा लगाउनु र वर्षमा एकाधपल्ट मीठो खानु पनि परिवर्तनको अनुभव हुनेछ । सहरभन्दाबाहिर जहाँ दूरदराजमा देशको अनुहार बोकेर यो भूगोल उभिएको छ । त्यहाँ पनि मान्छेको सपना रोपिनुपर्छ, रहर टाकुरामा उभिनुपर्छ ।
अबका केही दिनपछि यो सहरमा आएको कुनै नयाँ आगन्तुकलाई यी सडक किनाराभर औधी सुन्दर नीला फूल फुलेका थिए भन्दा उसले पटक्कै विश्वास नगर्ने गरी यी शिरीषका बोटहरू उदास मुड उभिने छन्, जसका हाँगाले आगन्तुकलाई आत्मीय आफन्तको मृत्युको सम्झना पनि दिन सक्छ र बेसमारी गाली गर्दै ‘यी हाँगामा तिमीले भनेको जस्तो कहिल्यै फूल फुल्न सक्दैन’ समेत भन्न सक्छ । यो समयले देखाउनेगरी गरेको परिवर्तन हो । यसरी आँखाको किनारमा परिवर्तन नउभिने हो भने शिरीषमा वसन्तको महत्व कुन किताबमा लेखिने थियो होला र कुन हृदयमा उभिने थियो होला । हरेक समय परिवर्तनको किताब बोकेर आउँछ, जसलाई पढ्न सक्नेहरू समयको राजमार्गमा गति दौडाउँछन् र अन्तिम सपनाको लागि बिउँझिरहन्छन् ।
मेरा आँखाले परपरसम्म भुइँ र रुखका हाँगा एकैपल्ट हेरेर भ्यायो । बोटमा जत्ति नै भुइँमा पनि फूल निल्लै भएर झरेका थिए । यी फूल अब आउने समयको परिवर्तनका लगि झरेको हुनुपर्छ । मनले भन्यो ।

 मो.९८४३१३९८१६

No comments: