Social Icons

4.02.2013

जीवन, एक मृत्यु स्खलन


रमेश सायन

कहिले काँही संयोगहरुले काम गर्छन् । तर,आज गरेन । यो सडक किनाराको घरमा कसैले बास दिएको भए संयोग हुने थियो  । तर भएन । आजको रात बिना संयोग बाँच्ने  छु ।
 काठमाडौँ जाने बसमा छु । मध्ये रातको बाह्र बजेको छ । भोलि, नेपाल बन्दको सूचना बोकेर बतास,घरि यो कान घरि ऊ कन गरिरहेको छ । सरासर काठमाडौँ जाउँ । भोलि फर्कन सक्दिन । काम छ, गल्छि त्रिसुलीमा । जे परोस, रोकें गाडि । उत्रें  अध्यारो सडकमा ।
म किन अचानक सडकमा उत्रें । अव, सम्झनु छैन ।
लागें नुवाकोट जाने बाटो तिर । एकलै छु । डर छैन र सम्झनु छैन त्रासका बल्यकहोलहरुलाई ।
अलि पर सडक ल्यामपोष्ट मुनी उभिएँ । किराहरु घुमिरहेछन् ल्यामपोष्ट ओरीपरी । हेरेँ आफूलाई । ठ्यक्कै लाग्यो किरा जस्तो । अलि ठूलो किरा । हातमा बोकिराखेको पानी पिँए । उत्तिनै खेर मोबाइलमा घन्टि बज्यो । ए मत मान्छे पो त । सम्झेँ । म मान्छे किरा ।
नुवाकोट जाने बाटो, अलि परै पुगेँ । गाए,ँ ग्यङनम स्टायल......... । कसैले सुन्यो सुनेन । त्रिसुलीले चाँहि सुसेली हाल्यो । बग्यो मेरो ग्यङनम स्टायल.........ओरालै ओरालो । नाचेहोलान ढुङगाहरु । उफ्रेहोलान माछा ।
 आज रातभर त्रिसुलीसँग जिस्कनु छ । र, पर्खनु छ, बिहानको उज्यालो । हेर्नु छ भोलि बिहान सवारी नगुडेको रित्तो राजमार्ग ।
डिलमा उभिएँ । हातमा उठाएँ ढुंगोे र हाने पानीमा । अफ्नो गति बिथोलिएको भाबमा हल्लियो नदी । सम्झें, जिन्दगीको गति पनि यसै गरि बिथोलिन्छ । कहाँ, कसले कुन बेला, हान्छ ढुंगो । र बिथोल्छ जिन्दगीको गति । भोक, अभाब, दुःख, खुसी, प्रेम, सुख केकेले बिथोल्छ जिन्दगीको तलाऊ र पाहाड झै श्रींखलाहरुमा उभिन्छ, जिन्दगी  ।
सडकै सडक अलि परै पुगे पछि फेरि फर्कि आँए । रातको एक बजेको छ । किनाराका घरहरु, थामेर उभिएकोछ, नदीको बेग । जसरी उभिन्छ, समयको बेग थामेर जीन्दगी ।
गल्छि चोकैमा छ, एउटा होटल । जहाँ अझै बाँकी छ, चहलपहल । छिरें । बिसाएँ झोल र सोधें ‘दाई यहाँ सुत्न पाइन्छ ?’
‘पाइदैन । सबै प्याक छ । ’
यतायत मज्दुरहरुको भिड छ । साहू मध्यरातीसम्म रक्सी बेचिरहेछ । म जस्ता कति आउँछन जान्छन् सबैलाई राखेर कहाँ साध्य ।
मान्छेहरु हल्ला बीच आ–आफ्नै जीवन बाँचिरहेकाछन् । बिर्सदै छन्, दिनभरको थकान । मान्छेलाइ कसरी दौडाउँछ सपनाले फेदिदेखि टाकुरासम्म । कसरी पुर्याउँछ जन्मदेखि मृत्युसम्म । हरेकको अनुहारमा जीवनको दौड कुदिरहेको छ । जीवन एउटा सपनाहरुको दौड हो । यी मज्दुरहरु, मालिकहरु सबै आ–आफ्नै दौड्मा कुदिरहेकाछन् ।
आज यतै सडक तिर बिताउँनु पर्ला । खाना मलेखुमा खाँए । धेरै पछि एक्लै यसरी रात रात भर हिंड्दै छु । अलिक पहिले काठमाडौँमा एक कवि र म रातभर हिंडेका छौ । आज आँखाको एक कुनामा उनको सम्झना आई उभियो ।
तर,लगतै उनलाई बिर्सेँ ।
दाईको घर कता । एक किसोर भाइले सोध्यो ।
‘बिराटनगर ।’
‘यता कता ?’
‘यसै डुल्न ।’ पत्याएन ।
‘भाइ तिम्रो घर कता नि ?’
‘मलेखु । ’
‘के गर्छौ ?’
‘ट्रकको कलासी ।’ गर्वले भन्यो ।
 म पनि खलासी हूँ । जिन्दगीको । सधै बिहान बेलुका ढ्याढ्याप पार्दै चलाउनु पर्छ ।
के बुज्यो ! हास्यो । उसले खाना खाई सकेको रहेछ । उठेर हिंड्न खोज्दै थियो । मसँग बिदा माग्यो ।
अब होटल साहू उज्यालो निबाएर सटर तान्दै छ । एकाद पनि उठेर हिंडिसकेकाछन् । सडकका म छु र मसँग हिँडिरहेने मेरो छायँ छ । बिजुलीको उज्यालोमा मेरो लामो नाक अज्जै तन्कियो ।
मलाई त मेरी आमाले जन्माएकी हुन तर यो छायालाई कसले जन्मायो ? रात बिरात मैसँग हिँडिरहन्छ । म रुँदा हाँस्दा मैसँग हुन्छ । दुनियाँमा कोहि नभए, मसँग छाया हुन्छ । यहि छायाले मेरो गीत सुन्छ । मेरा कविताहरु टिपी हिँड्छ । मलाई एक्लो हुनबाट बचाउँछ र खुसिहरु कुदी हिँड्ने बाटो तिर लैजान्छ । यहिँ छाया हो, मेरो चित्र भित्ता भित्तामा टाँगी हिँड्छ र मलाई ‘रमेश सायन’ चिनाउँछ । कहिलेकाँही म आफ्नै हुलिया बिर्सन्छु र छाया हेरेर आफुलाई भेट्छ,ु एक नक्सामा ।
अग्ला डाँडाहरुबाट खसेको छाया त्रिसुलीमा तैरी रहेको छ । यत्रो बेग बोकि हिँड्ने नदीले छाया बागाइलान सकेन । छायासँग नदी हारेको युद्ध बगिरहेको छ ।
छाया, मान्छेलाई अनुहारको चित्र सिकाउँने पाठशाला हो । हरेक उज्यालोमा चित्र बोकेर उभिन्छ ।
मेरो छायासँगको यात्रा कसैले बिथोलिदियो र ट्ररकको क्यविनबाट बोलायो दाइ आउनुहोस् ट्रकमै सुतौँ । एसो टाउको उठाएर हेरें । अघिको खलासी भाई रहेछ ।
मसँगै छाया पनि ट्रकमै चढ्यो ।
मोबाइलमा फेसबुक खोलें । अझै केहि साथीहरु अनलाईन छन् । फेसबुकको कमाल बुजिनसक्नु छ ।
‘दाई मोबाइलमा फिल्म छैन । ’
‘छ । हेर्छौ ?’
‘हेर्छु । ’
खोलँे ल्यापटप र क्यराभ्यन प्ले गरें । खलासी भाई फिल्म हेर्न थाल्यो । नेपाली सब टाइटल बिस्तारै पढिरहेको छ । लामो लामो संबादको आदा वाक्य मात्र पढ्न भ्याउँछ । यो फुच्चे पनि जिन्दगीको क्याराभानमा थिन्ले हो । यसले पनि छिचोल्नु छ, जिन्दगीको क्याराभान । हिड्नुछ, पुर्खाहरु हिँडिगएको बाटो । उसै गरि बिलाउनु छ हिँड्दा हिँड्दै बाटाबाटै हराएको पुर्खाहरुको आदिम पैतला झै ।
दिक्क मानेछ क्याराभान । भन्यो, बुजिन । र, सोध्यो, ‘दाई सन्निलिओनको छैन ?’
 ‘के जिस्म टु ?’
‘हैन अरु ।’ 
‘छैन । भाई । यहाँ नेट राम्रो चलेको छैन । नत्र देखाई दिन्थें ।’
‘मैले जिस्म टु हेरेको थिएँ । सन्नि निक्कै सेक्सी लागेकी थिई । त्यसैको ब्लु पनि छ रे हेर्न मन थियो’  । उसले भन्यो ।
यो फुच्चे पनि पुर्खाहरु हिँडेकै बाटो हिँडि आयो र यो त्रिसुली किनारामा उभियो । तर पुर्खाहरु भन्दा जिन्दगीको स्वद फरक फेरिरहेछ —ऊ । छामिरहेछ, दुर दराजका अंकहरु । र, आफनै मनसँग कमुक बनिरहेछ । अचेल, कयौँ पल्ट सपनामा सन्नि लिओन आएर, उसलाई बिथोलेर जाँदि हो । 
जिवनका अनेक स्वदहरुछन् । कुनै तिता । कुनै मिठा । जिन्दगी जन्म र मृत्युको कक्टेल पाटि जास्तो लाग्छ ।
खलासी भाई स्टेरिगं छेउमा निदायो । म ओल्लो सिटमा बसेर फेसबुक चलाई रहेको छु । यो राती एक मित्रलाई रुगा लागेछ । राख्यो स्टाटस ‘रुगालाग्न थाल्यो ज्वरो आउला जस्तो छ ।’ कमेन्टमा लसऐन्जल बस्ने एक भुटनिज साथीले सु—स्वस्थेको कामना गर्यो । सायद त्यो स्टाटसवला खुसीको स्खलनमा हरायो होला ।
अचेल मान्छे बाँच्ने कला फेरिएको छ । सहरको मध्य विन्दुमा होडिङबोड भएर  उभिन चाहान्छ, मान्छे  । आफ्नो स—साना दुःखहरु बाँड्छ र अरुबाट सम्बेदना लुट्छ ।
अचेल हरेक दिन मान्छेहरु सम्बेदना लुटिहिँड्छन् । सायद कतैबाट प्रेम नपाए पछि मान्छेले सम्बेदानाबाट पनि प्र्रेम महसुस गर्दो हो । र, अलिकति खुसि समेटेर उभिदो हो ।
खलासीको टाउको अहिले स्टेरिङमा अडिएको छ । भोलि उसलाई यो स्टेरिङको टाउकोले कहाँ पुर्याउँने हो । जिन्दगीको स्टेरिङ कुन मोडमा पुगेर मृत्युबाट स्खलित हुनेहो, कसले भन्न सक्छ ?
अखिर जीवन मृत्युको स्खलन त हो । एक दिन जीवन मृत्युबाट स्खलित हुन्छ र सकिन्छ ।


No comments: